भोजपुर | खेलकुदमार्फत पदमार्ग प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। भोजपुरको चखेवा भञ्ज्याङबाट सुरु भई टेम्केडाँडा, तावाभञ्ज्याङ (खोटाङको सिमाना), पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै पुनः चखेवा फर्कने २२ किलोमिटरको दुरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो।

स्थानीय पर्यटन प्रवर्द्धन र समुदायमा खेलकुदको चेतना बढाउने लक्ष्यसहित सम्पन्न भएको प्रतियोगितामा समूहतर्फ सिलिचोङ समूहले पहिलो स्थान हासिल गर्दा टेम्के समूह दोस्रो र मैयुङ समूह तेस्रो स्थानमा रहे।

एकलतर्फको पुरुष दौडमा विसाल राईले एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। सरोज लिम्बु दोस्रो र दिपक राई तेस्रो भए। महिलातर्फ दिर्पा बस्नेतले दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा दूरी पार गर्दै प्रथम बनिन् भने कृष्मा राई दोस्रो र जुलिन राई तेस्रो स्थानमा रहिन्।

प्रतियोगितामा समूह प्रथम हुने टोलीले नगद रु. ४० हजार, दोस्रोले रु. ३० हजार र तेस्रोले रु. २० हजार प्राप्त गरे। त्यस्तै, एकलतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रोलाई रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिता रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट्स एकेडेमीको आयोजनामा टेम्केमैयुङ गाउँपालिकाको रु. पाँच लाख आर्थिक सहयोगमा सम्पन्न भएको हो। गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईका अनुसार कृषि र पर्यटनलाई जोड्दै स्थानीय पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता नियमित रूपमा आयोजना हुँदै आएको हो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई नेपालको एक सय पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मार्गका रूपमा चिनाउँदै, यस क्षेत्रको समुचित विकासका लागि छिमेकी स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो।

यो वर्ष प्रतियोगिता वर्षातको समयमा नै आयोजना गरिएको हो, ताकि यो पदमार्ग वर्षभरि घुम्न सकिने, सुरक्षित र रमणीय गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सकियोस्। आयोजकका अनुसार नौ समूहको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक समूहमा तीन महिला र तीन पुरुष गरी कुल छ जना प्रतिस्पर्धी रहेका थिए।