सुनसरी | कोशी प्रदेश सरकारले घोषणा गरेको "कोशी प्रदेश पर्यटन वर्ष २०८२" लाई सफल बनाउन सातवटै प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवन र पोखरामा पर्यटन व्यवसायीहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

कोशी प्रदेशका पर्यटन व्यवसायीहरूको टोली “घुमौं पूर्व, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल पारौं” भन्ने नारासहित बिहीबार चितवन पुगेको थियो। टोलीलाई होटेल व्यवसायी सङ्घ चितवनले स्वागत गरेको थियो।

यो भ्रमण नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारअन्तर्गतको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा भएको हो।

पूर्वका पर्यटन व्यवसायीहरूको टोलीले बागमती र गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूसँग पनि अन्तरक्रिया गर्ने र धार्मिक पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएको छ।यसले अन्तर-प्रदेश पर्यटन सम्बन्धलाई मजबुत बनाउने विश्वास टोलीका सदस्य तेजबहादुर पुरीले व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेले, “ठूला स्टार होटेलहरू मुख्यतः बाह्य पर्यटककै कारण चलिरहेका छन्,” भन्दै आन्तरिक पर्यटन प्रवर्द्धनको आवश्यकता औंल्याए।

महासङ्घका केन्द्रीय उपाध्यक्ष देवी गौतम रबिनले पूर्वी नेपालमा रहेका धेरै धार्मिक तथा सांस्कृतिक महत्वका गन्तव्यहरूको स्मरण गराउँदै भने, “साना व्यवसायीहरू बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्, तर सरकारी नीतिका कारण पर्यटन व्यवसाय संकटमा परेको छ।”

होटेल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भरतपुर–१ का वडाध्यक्ष केशव महर्जन, महासङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, कोशी प्रदेश उपाध्यक्ष गोविन्द थापा, विराटनगर उपाध्यक्ष खिला राज सुवेदी, होटेल तथा लज व्यवसायी समिति वरिष्ठ उपाध्यक्ष दीपक पोख्रेल, होटेल व्यवसायी सङ्घ भेडेटारका सचिव रमेश श्रेष्ठ, र उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।