भोजपुर | भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित कैलाश पर्वत र हरित हिलको संरक्षण तथा विकास थालिएको छ। यस सुन्दर प्राकृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित संरक्षणका काम अघि बढाइएको हो।

वडाध्यक्ष कुमार थापाका अनुसार, कैलाश पर्वतसम्म पुग्नका लागि पदमार्ग निर्माण भइरहेको छ। प्रदेश सरकारबाट प्राप्त रु ५ लाखको बजेटमा सो पदमार्ग बनाइएको हो। साथै, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्न पनि अर्को पदमार्ग निर्माण भइरहेको छ।

वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। सोही योजना अनुरूप वडा कार्यालय नजिकै रु १० लाखको लागतमा बाल उद्यान समेत निर्माण गरिएको छ।

स्थानीयवासी टेकबहादुर बस्नेतले वडाले सुरु गरेको संरक्षण प्रयासले समुदायमा उत्साह थपेको बताए। “यी ऐतिहासिक स्थानहरू अघिल्लो समयमा बेवास्तामा परेका थिए,” उहाँले भन्नुभयो, “तर अहिले स्थानीय सरकारको प्रयास सराहनीय छ।”

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले यी क्षेत्रहरूको विकासपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा व्यक्त गरे। कैलाश पर्वत र गौरीशंकर मन्दिरमा वर्षमा एकपटक लाग्ने भव्य मेलामा स्थानीय मात्र नभई छिमेकी जिल्लाबाट समेत भक्तजन सहभागी हुने जानकारी उनले दिए।