सन्जिप तिम्सिना

विराटनगर | कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष को रूपमा घोषणा गरेसँगै त्यसलाई सार्थक बनाउने उद्देश्यले विराटनगरमा एक भव्य पर्यटन नीति संवाद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका पर्यटन सम्भावनालाई उजागर गर्दै नीति निर्माणमा बहस गर्न आयोजित उक्त कार्यक्रम संवाद समूह कोशी प्रदेश को आयोजना तथा साहारा नेपाल को व्यवस्थापनमा सम्पन्न भएको हो।

कार्यक्रम दुई सत्रमा विभाजित रहेको थियो। पहिलो सत्रमा प्रदेशको पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, नीति निर्माण तथा सरकारी र निजी क्षेत्रबीचको सहकार्यका विषयमा केन्द्रित छलफल भएको थियो। दोस्रो सत्रमा पर्यटन प्रवर्द्धनमा सरकारको भूमिका, सहकार्यको आवश्यकता र स्थानीय तहहरूको भूमिकामाथि अन्तरक्रिया गरिएको थियो।

पहिलो सत्र: पर्यटनको अवस्था, सम्भावना र नीति निर्माणमा छलफल

कार्यक्रमको पहिलो सत्रमा वरिष्ठ पत्रकार सुमन सुस्केराले "कोशी प्रदेशमा पर्यटनको अवस्था र सम्भावना" शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रदेशको सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई आधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्नुभयो। कोशी प्रदेशमा रहेको छिन्ताङ्को ऐतिहासिक स्थल, धरानको धार्मिक पर्यटकीय महत्व, भोजपुर र खोटाङका मौलिक परम्परा तथा पर्वहरू, र पूर्वी पहाडी जिल्लाहरूका ट्रेकिङ मार्गहरूको उल्लेख गर्दै सुस्केराले योजनाबद्ध विकासको खाँचो औंल्याउनुभयो।

यसपछि संवाद सत्रमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका सह–प्राध्यापक कुबेर श्रेष्ठ, कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक कृष्ण साह र पर्यटन क्षेत्रकी अगुवा महिला एलिना मगर सहभागी हुनुहुन्थ्यो। संवादमा सहभागीहरूले प्रदेशको पर्यटन क्षेत्र अझै योजना, पूर्वाधार, तथा प्रचारप्रसारको अभावमा पछाडि परेको भन्दै ती पक्षमा संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको पहिलो सत्रको सहजीकरण पत्रकार सुमन पुरीले गर्नुभएको थियो।

दोस्रो सत्र: सरकारको समन्वय र सहकार्य आवश्यक

कार्यक्रमको दोस्रो सत्र "पर्यटनमा सरकारको समन्वय र सहकार्य" शीर्षकमा केन्द्रित रह्यो। यस सत्रमा महेन्द्र मोरङ क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्याय ले सहजीकरण गर्नुभएको थियो।

वक्ताका रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारी, कोशी गाउँपालिका महासंघका अध्यक्ष ऐयुव अन्सारी र होटल तथा पर्यटन व्यवसायी तथा पर्यटन वर्ष २०८२ का सह–संयोजक भविस श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

मन्त्री रेवति रमण भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले पर्यटन वर्ष सफल पार्न स्थानीय तहहरूसँग समन्वयमा काम गर्ने योजना बनाएको बताउनुभयो। उहाँले सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा विभिन्न परियोजना अघि बढाउन सकिने उल्लेख गर्दै सरकारी संयन्त्रले नीतिगत स्पष्टता दिने आश्वासन दिनुभयो।

त्यस्तै, मन्त्री सदानन्द मण्डलले सरकारले पर्यटनलाई प्राथमिकताको क्षेत्रका रूपमा लिएर पूर्वाधार विकास र बजेट व्यवस्थापनमा जोड दिएको बताउनुभयो। निजी क्षेत्रलाई समेत साथमा लिएर प्रवर्द्धन अभियानहरू सञ्चालन गर्ने योजना सुनाउनुभयो।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुखहरू, पर्यटन व्यवसायीहरू, स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू, सञ्चारकर्मीहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा उठाइएका विचार र सुझावहरूलाई समेटेर नीति निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।1746605824690

कार्यक्रमले कोशी प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि नीतिगत स्पष्टता, सरकार–निजी क्षेत्र सहकार्य, र स्थानीय तहको सक्रिय भूमिका अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ।

कोशी प्रदेशले २०८२ साललाई पर्यटन वर्षको रूपमा सफल बनाउने लक्ष्य लिएको छ। यस किसिमका संवादमूलक कार्यक्रमहरूले पर्यटन नीतिको संरचना, रणनीति निर्माण र कार्यान्वयनमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।