सन्जिप तिम्सिना 

विराटनगर | कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलन २०२५ आजबाट विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यस महत्वपूर्ण सम्मेलनको उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एक भव्य समारोहबीच गर्नुभयो।

कार्यक्रममा सहभागी हुन देशका विभिन्न भागहरूबाट प्रतिनिधिमण्डल, निजी क्षेत्रका अगुवाहरू, उद्योगी–व्यवसायी, अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ता, विज्ञ तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनको मुख्य उद्देश्य कोशी प्रदेशमा लगानी सम्भावना रहेको क्षेत्रहरूलाई पहिचान गर्नुका साथै देशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नु हो।

प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्यमा मुलुकको समृद्धिका लागि संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै निजी क्षेत्रको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले लगानीको सुरक्षाका साथै राजनीतिक स्थायित्व र नीति स्थायित्वको महत्त्वपूर्ण सन्देश दिनुभयो।

उद्घाटन सत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोल्दै प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माणमा पूर्ण प्रतिबद्धता जनाइसकेको बताउनुभयो। उहाँका अनुसार, लगानीका क्रममा देखिने झन्झट र प्रशासनिक झमेलालाई अन्त्य गर्न प्रदेश सरकारले हालसम्म आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेको छ।1746087018876

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्यमा काम गर्न तत्पर रहेको उल्लेख गर्दै भन्नुभयो, “लगानीकर्ताले अब कोशी प्रदेशलाई भरपर्दो गन्तव्यका रूपमा लिन सक्नुहुन्छ। हामी संघीय वारेस बनेर सहजता ल्याउनेछौं।”

सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि लगायत आठ वटा मुख्य क्षेत्रका ७१ वटा परियोजनाहरू प्रस्तुत गरिएको छ। यी परियोजनाहरू एक वर्षको अवधिमा निजी क्षेत्रका सरोकारवाला, संघसंस्था, तथा विज्ञहरूसँग निरन्तर छलफल र समन्वयपछि तयार पारिएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले बताए ।

परियोजनाहरूको मूल्यांकनमा स्थानीय स्रोतसाधनको उपयोग, रोजगारी सिर्जना, वातावरणीय प्रभाव तथा दीगो विकासका मापदण्डलाई प्राथमिकता दिइएको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए ।

सम्मेलनमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले प्रदेश सरकारले गरेको तयारी, कानुनी संशोधन, र सहकार्यको भावना सराहनीय रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले लगानीका लागि अब प्रस्ट नीति र प्रतिबद्धता देखिएको भन्दै आगामी दिनमा साझेदारीमा काम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

कोशी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष  राजेन्द्र राउतले सम्मेलनले दीर्घकालीन आर्थिक आधार तयार गर्ने बाटो खोल्ने अपेक्षा व्यक्त गर्दै प्रदेशमा ‘एक स्टप लगानी सुविधा केन्द्र’ स्थापनाको प्रस्तावसमेत अघि सारेका छन्।

कोशी प्रदेश लगानी सम्मेलन २०२५ ले प्रदेशको समग्र आर्थिक सम्भावनालाई उजागर गर्नुका साथै लगानीकर्तासँग प्रत्यक्ष संवादको अवसर प्रदान गरेको छ। प्रदेश सरकार र निजी क्षेत्रबीचको सहकार्यकाे सशक्त सन्देश दिन सफल यो सम्मेलनले आगामी दिनमा कोशी प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।IMG_20250501_125122