काठमाडौँ । नयाँ र कम प्रचारित पर्यटकीय गन्तव्यहरूको खोजी र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले युवा पुस्तालाई सक्रिय रूपमा संलग्न गराउँदै कन्टेन्ट क्रियटरहरूसँग सहकार्य गर्ने भएको छ। यसै उद्देश्यले बोर्डले मंगलबार काठमाडौंमा ‘कन्टेन्ट क्रिएटर र प्याकेज क्युरेटर अर्थात पर्यटन व्यवसायीहरूकाे संयोजन’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमको मूल उद्देश्य नेपालका विभिन्न प्रदेशमा रहेका आकर्षक तर कम प्रचारित गन्तव्यहरूको पहिचान गरी तिनको प्रवर्द्धन गर्नु हो। सो कार्यक्रममार्फत बोर्डले कन्टेन्ट क्रिएटरहरू—जो प्रविधि र सामाजिक सञ्जालमार्फत सामग्री उत्पादन गर्छन्—र पर्यटन प्याकेज क्युरेटरहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्यको वातावरण सिर्जना गरेको छ।

कार्यक्रममा सातै प्रदेशका क्रियाशील कन्टेन्ट क्रिएटरहरूले आफ्नो क्षेत्रका विशेष पर्यटकीय गन्तव्यहरूको प्रचारात्मक भिडियो प्रस्तुत गरेका थिए। अपि हिमालको बारेमा हेमन्त राई, कर्णालीबाट सिर्जना ओली ‘सिज्जु’, लुम्बिनीबाट पल्लव पण्डित, गण्डकीबाट हेमन्त भण्डारी (नेपाल एट्थ वन्डर), बागमती र मधेसबाट मनिष रूचाल (घुमन्ते), र कोशी प्रदेशको मुन्धुम ट्रेलबारे मनोज आचार्यले आकर्षक प्रस्तुति दिएका थिए।

कोशी प्रदेशबाट सहभागी मनोज आचार्यले मुन्धुम ट्रेललाई नेपालको पूर्वी पहाडी भूगोलमा अवस्थित एउटा सांस्कृतिक र प्राकृतिक महत्वको पर्यटकीय गन्तव्यको रूपमा वर्णन गरे। उनले भने, “मुन्धुम ट्रेल केवल पदयात्रा मार्ग होइन, यो किरात सभ्यताको ऐतिहासिक कथा बोकेको जीवित संग्रहालय हो। यहाँको जैविक विविधता, सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरता अद्वितीय छन्। मैले आफैँ ट्रेल यात्रा गरेर त्यहाँका स्थानीय समुदाय, जीवनशैली र संस्कृतिलाई नजिकबाट अनुभव गरें, जुन विश्वसामु चिनाउन आवश्यक छ।”

उनका अनुसार त्यस्ता गन्तव्यहरू प्रचारको अभावमा ओझेलमा परेका छन्। "यदि हामी कन्टेन्टको माध्यमबाट यस्ता ठाउँहरूलाई समग्र विश्वमा देखाउन सक्यौं भने, ती गन्तव्यहरूले स्थानीय आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिन सक्छन्," उनले थपे।IMG-20250429-WA0025

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हालको विश्वव्यापी प्रवृत्तिमा पर्यटनको स्वरूप बदलिँदै गएको र त्यसअनुसार प्रचार रणनीतिमा पनि नवीनता आवश्यक रहेको बताए। उनले भने, “अब प्रविधिको उपयोग गर्दै युवालाई संलग्न गराएर प्रचार–प्रसारमा नयाँ ढंग अपनाउनुपर्छ। कन्टेन्ट क्रियटरहरूले पत्ता लगाएका नयाँ ठाउँहरूलाई व्यवसायीसँग जोड्ने प्रयास हाम्रो रणनीतिक सोच हो।”

उपाध्यक्ष रामप्रसाद सापकोटाले कन्टेन्ट क्रियटरहरूको सिर्जनशीलता र योगदानको खुलेर प्रशंसा गरे। साथै, उनले बोर्डले अबदेखि कन्टेन्ट क्रियटरहरूसँग सहकार्य गर्दै उनीहरूको सामग्री बोर्डकै माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने बताए।

यो कार्यक्रम नेपालमा नवप्रवर्तनशील पर्यटन प्रवर्द्धनको दिशामा एक महत्वपूर्ण पाइला सावित भएको छ। कन्टेन्ट क्रियटर र पर्यटन व्यवसायीहरूको सहकार्यले भविष्यमा नेपालको कम प्रचारित गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।IMG-20250429-WA0018