इटहरी । १८ र १९ गते आयोजना हुने कोशी प्रदेश लगानी सम्मेलन तयारीलाई व्यस्त थिए मुख्यमन्त्री हिक्मत कार्की । तर उनले सम्पदाविज्ञ रवीन्द्र पुरीसँगको भेटमा चासो देखाए ।
भक्तपुरका रैथाने, युनेस्को अवार्ड पाएका र सम्पदा निर्माण मात्र होइन निर्माता उत्पादनमा सफल पुरीलाई भेट्दा कार्कीले पर्यटनको कुरा गरे । कोशी पर्यटन वर्ष २०८२ को समय जोड्दै उनले बिग्रेका ऐतिहासिक व्यक्ति र समुदायका घरगाउँ बनाउन सकिने वा नसकिनेबारेमा चासो राखे ।
पुरीले त्यो सम्भव भएको बताए । भक्तपुर र पनौतीको उदाहरण अनि आफ्नो नेतृत्वमा बनेका नमुना घरका तस्बिर हरु देखाएर पुरीले सबै सम्पदालाई मौलिक रुपमा निर्माण , पुनःनिर्माण र नवनिर्माण सबै सम्भव भएको बताए । आफूले गरेका कामको दस्तावेज भएको १५८ पेजको पुस्तक ’नमुना घर’ लिएर पुगेका पुरीले बोलेपछि कार्कीले सोधे’, मदन भण्डारी, रत्नकुमार बान्तवा, सूर्यबहादुर थापाको घर ओरिजिनल रुपमै फेरि बनाउन सकिन्छ ?’, पुरीले मुस्कुराउँदै भने, ‘सकिन्छ ।’ मुख्यमन्त्री कार्कीले विराटनगरको कोइराला निवास नि त्यस्तै गर्न सकिने बताए । तर पारिवारिक अङ्सबन्डालले सकस हुने बताए । भने, ’२०७४ फागुनमा कोइराला निवासको कार्यक्रममै मैले अङ्सबन्डा नगरेर कोइराला निवासको मौलिकता जोगाउने बारेमा बोलेको थिए ।’




















