आयुसा पराजुली
विराटनगर | कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक शहरको रूपमा परिचित भए पनि यहाँ घुम्नलायक स्थानको अभाव विगतदेखि नै महशुस हुँदै आएको थियो। कोइराला निवास, केही पुराना उद्योगहरू र केही सपिङ मल बाहेक आन्तरिक पर्यटकलाई आकर्षण दिने खालका गन्तव्यको कमीले गर्दा घुम्न आउने धेरैजसो मानिस सीमापारिको भारतीय बजार जोगबनीतिर मोडिने गरेका छन्।
तर अब, विराटनगरमै एउटा यस्तो गन्तव्य निर्माणको अन्तिम चरणमा पुगेको छ, जसले यो अभावलाई पूर्ति गर्नेछ। त्यो गन्तव्य हो – 'ड्रिम गार्डेन', जुन अहिले भक्तपुरको सांस्कृतिक झल्को दिने शैलीमा रुपान्तरण हुँदैछ।
बाल्यकालको सपना, हरियालीको मोह
ड्रिम गार्डेनका स्रष्टा बसन्त हुमागाईंको बाल्यकालको अनुभव नै यसको आधार हो। भारतको सिलिगुडीमा विद्यालय पढ्ने क्रममा उनले बगैंचाको हेरचाह गर्न थालेका थिए। त्यहीबेलादेखि उनलाई बोटविरुवाप्रतिको मोह बढ्न थाल्यो। सिलिगुडीबाट फर्किएपछि उनले आफ्नो घरआसपास गार्डेनिङको काम सुरु गरे। फार्महाउसको स्वरुपमा रहेको जग्गामा बिस्तारै माछा पोखरी, बगैंचा र गोदाम बनाउँदै गए।
२०७४ सालमा उनले आफ्नै खर्चमा ‘ड्रिम गार्डेन पार्क’ स्थापना गरे। सुरुमा केही रुखबिरुवा रोपेर हरियाली बनाउँदै लगे। सल्ला, सिमल, राजवृक्ष, सखुवाजस्ता रुखहरू लगाएर उनले वातावरणमै हरियाली भरिदिए। त्यसपछि माछा पोखरीलाई स्वीमिङ पुलमा रुपान्तरण गरे, रेष्टुरेन्ट बनाए र प्रवेश शुल्क लिएर अवलोकनका लागि खुला गरे।
भक्तपुरको शैलीमा नयाँ सपना
यत्तिकैमा बसन्त हुमागाईंका छोरा श्रृजन हुमागाईंले यो पार्कलाई अझ विशेष बनाउने सोच ल्याए। उनीहरूले भक्तपुरको परम्परागत वास्तुकलाबाट प्रेरणा लिएर पार्कलाई 'मिनी भक्तपुर' बनाउने योजना थाले। त्यसपछि सुरु भयो कलात्मक ढुंगेधारा, मण्डप र ‘दरबार ब्यांकेट’ निर्माणको काम।
दरबार ब्यांकेट भक्तपुरकै इँटा, काठ र पोखरेली ढुंगा प्रयोग गरेर बनाइएको आकर्षक सभाहल हो, जुन अहिले ड्रिम गार्डेनको केन्द्रबिन्दुमा रहेको छ। यसको नजिकै बनाइएको ढुंगेधारा र मण्डपले भक्तपुरको सम्पदाको झल्को दिन्छ। यो संरचना भक्तपुरको मल्लकालीन शैलीमा निर्मित छ, जसले पाहुनाहरूलाई इतिहास र संस्कृति सँगको सम्बन्ध अनुभूति गराउँछ।
सुविधा र सम्भावनाहरू
ड्रिम गार्डेन अहिले सबै उमेर समूहका मानिसका लागि रमाइलो गन्तव्य बन्दै गएको छ। यहाँ फराकिलो र शान्त वातावरणमा रहेको हरियाली बगैंचा, स्वीमिङ पुल, बालबालिकाका लागि खेल्ने स्थान, विश्रामस्थल, रेष्टुरेन्ट र ठूला सभा समारोहका लागि ५ सय जनाको क्षमता भएको ब्यांकेट हल तयार छ। साथै, एकैपटक १ हजारभन्दा बढी आगन्तुक सहजै रमाउन सक्ने व्यवस्था गरिएको छ।
शादी, जन्मदिन, एनिभर्सरीजस्ता व्यक्तिगत तथा पारिवारिक कार्यक्रमका लागि अहिले ड्रिम गार्डेन लोकप्रिय गन्तव्य बन्न थालेको छ। यहाँ खाना, प्रकृति र सांस्कृतिक संरचनाको सम्मिलनले आन्तरिक पर्यटकलाई तान्न थालेको छ।
बसन्तका अनुसार अब छिट्टै यहाँ आवासीय कोठाहरू पनि निर्माण गरिनेछ। जसले गर्दा ड्रिम गार्डेनलाई पूर्ण रिसोर्टको रूपमा परिचित गराउन सकिनेछ।
लगानी र चुनौती
हालसम्म पार्कको संरचना विस्तार र नयाँ सभाहल निर्माणमा मात्र साढे चार करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। भक्तपुर शैलीका निर्माण सामग्री, काठ र ढुंगा ल्याउने काम निकै खर्चिलो भएको बताउँछन् बसन्त।
२०७४ को बाढी र कोभिड महामारीका कारण व्यवसाय प्रभावित भए तापनि अहिले फेरि कारोबार सुधार भइरहेको छ। हुमागाईं परिवारको मेहनत, लगानी र लगावले विराटनगरवासीका लागि मात्र होइन, कोशी प्रदेशकै पर्यटन क्षेत्रका लागि यो एक महत्वपूर्ण उदाहरण बनेको छ।
अब कोही सोध्छन् भने– ‘विराटनगरमा घुम्नलायक कहाँ छ ?’– जवाफमा ढुक्कसँग भन्न सकिन्छ, ‘ड्रिम गार्डेन जानुस्, भक्तपुरको झल्को त्यहीं पाइन्छ।’