सोलुखुम्बु | किरात कुलुङ समुदायको मौलिक संस्कृति, परम्परा र प्रकृति पूजासँग जोडिएको चाकचाकुर महोत्सव यस वर्ष सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा भव्य रूपमा मनाइने भएको छ। नेपाल सरकारले घोषणा गरेको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई समर्थन र प्रवर्द्धन गर्ने उद्देश्यले पुस १३, १४, र १५ गते तीन दिनसम्म महोत्सव आयोजना गरिने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्र सिंह कुलुङले जानकारी दिनुभयो।

चाकचाकुर महोत्सव कुलुङ समुदायको पुख्र्यौली पर्व हो, जुन ऋतु परिवर्तनसँगै नयाँ वर्षको सुरुवातको प्रतीकस्वरूप मनाइन्छ। परम्परागत विश्वास अनुसार पुस १५ गतेदेखि नयाँ मौसम चक्र सुरु हुने मान्यता रहेको छ। यही अवसरमा कुलुङ जातिको सांस्कृतिक तथा धार्मिक विधिहरू पुनः जीवन्त बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिने अध्यक्ष कुलुङले बताउनुभयो।

उहाँका अनुसार, महोत्सवमा कुलुङ समुदायले प्रकृतिको आराधना गर्ने, अगामी वर्षका लागि आफ्नो काम, खेतीपाती, स्वास्थ्य तथा समृद्धिको कामनाका साथ शक्ति माग्ने परम्परागत विधि प्रदर्शन गरिनेछ। साथै समुदायमा बसेर वर्षभरिका गतिविधिहरूको समीक्षा र योजना बनाउने सांस्कृतिक चलनहरूलाई संरक्षण गर्ने प्रयास पनि महोत्सवको मूल उद्देश्य हो।

महोत्सवले समुदायबीचको आत्मीयता अभिवृद्धि गर्ने, आपसी सद्भाव बढाउने र जातीय पहिचानमा गर्व महसुस गराउने वातावरण बनाउने विश्वास गरिएको छ। साथै, महाकुलुङ गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा समेत यस महोत्सवले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल सरकारले मुन्दुम ट्रेललाई सय प्रमुख पर्यटकीय गन्तव्यहरूमा समावेश गरी भ्रमण वर्ष २०२५ घोषणा गरेको हो। यही सन्दर्भमा सोलुखुम्बुका साथै भोजपुर र खोटाङका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूले पनि विविध सांस्कृतिक र साहसिक गतिविधिहरूको आयोजना गरिरहेका छन्। भोजपुरको साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन र माउन्टेन साइक्लिङ, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य परम्परागत कार्यक्रमहरू आयोजना हुँदै छन्। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रेड पाण्डा तथा थार महोत्सव सम्पन्न भइसकेको छ।

मुन्दुम ट्रेलको मार्ग खोटाङ र भोजपुरको सीमामा पर्ने टेम्केडाँडा (३,१६५ मिटर), साल्पा पोखरी (३,७५० मिटर) हुँदै सिलिचुङ (४,१६५ मिटर) सम्म पुग्ने गर्दछ। यो ट्रेल करिब १३ दिनमा विदेशी पर्यटकहरूले पूरा गर्न सक्ने र नेपाली पर्यटकका लागि १० दिन पर्याप्त हुने बताइएको छ। हिमाली भेगका अनुपम दृश्य, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो पदमार्गलाई ‘भर्जिन ट्रेकिङ गन्तव्य’ को रूपमा प्रचार गरिंदै आएको छ।

मुन्दुम ट्रेल भ्रमण वर्षको सफलताका लागि चाकचाकुर महोत्सवले सांस्कृतिक चेतना फैलाउने र पर्यटक आकर्षण बढाउने ठूलो भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।