उर्लाबारी । नयाँ वर्ष २०८२ को अवसरमा मोरङको उर्लाबारी–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्र पर्यटकले भरिभराउ भएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेतिनी सिमसार पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्न थालेको छ।
सिमसार क्षेत्रका सचिव अर्जुन बास्तोलाले नयाँ वर्षको अवसरमा दैनिक हजारौंको संख्यामा पर्यटक आगमन भएको जानकारी दिए। “यहाँको हरियाली, जलपंक्षी र शान्त वातावरणले पर्यटक आकर्षित गरिरहेको छ,” उनले भने, “स्थानीय युवाहरूको सक्रियता र व्यवस्थापनका कारण यहाँ आउने पर्यटकहरूको संख्या दिनप्रतिदिन बढ्दो छ।”
बेतिनी सिमसारले पर्यावरणीय सन्तुलन मात्र होइन, स्थानीय समुदायको आम्दानीमा पनि योगदान पुर्याउँदै आएको छ। स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले सिमसारको पूर्वाधार सुधारका लागि पहल थालिसकेको जनाइएको छ। संरक्षण र प्रवर्द्धनका लागि थप लगानी र दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
बेतिनी सिमसारको पर्यटकीय सम्भावना उजागर गर्दै नयाँ वर्षको सुरुवातसँगै यस क्षेत्रको विकासको ढोका अझ फराकिलो भएको छ।