सन्जिप तिम्सिना 

तेह्रथुम | कोशी प्रदेश सरकारले  ‘कोशी पर्यटन वर्ष २०८२ ’ को औपचारिक शुभारम्भ गरेको छ। तेह्रथुम जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य तिनजुरे–मिल्केस्थित आरआर गार्डेनमा बुधबार आयोजित विशेष कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गर्नु ऐतिहासिक निर्णय भएको बताए। उनले कोशी प्रदेशमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पर्यटन क्षेत्रको विकास गर्न सके यसले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउने बताए।

“पर्यटनले देशमा बढ्दै गएको आर्थिक शिथिलता कम गर्न मद्दत गर्छ। विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने क्षमता पर्यटनसँग जोडिएको छ,” मन्त्री सिंहले भने। उनले भारतजस्ता छिमेकी मुलुकहरूबाट पर्यटक भित्र्याउने रणनीतिमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा पनि जोड दिए।

मन्त्री सिंहले मुलुक संघीय संरचनामा प्रवेश गरेपछि स्थानीय, प्रदेश र केन्द्रबीचको समन्वयमा भएका विकास प्रयासलाई केही व्यक्तिहरूले नकारात्मक ढंगमा प्रस्तुत गर्न खोजेकोमा आपत्ति जनाए। उनले तथ्यांकका आधारमा २०४६ साल यताका विकासका उपलब्धिहरूको मुल्याङ्कन गर्न सुझाव दिंदै पूर्वाग्रह नभइ यथार्थमा आधारित भएर मूल्यांकन गर्नुपर्ने बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन वर्ष २०८२ को घोषणा प्रदेशभरि पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उद्देश्यले गरिएको जानकारी दिए। उनले कोशी प्रदेशका प्रत्येक जिल्ला र क्षेत्रलाई छुट्टै पर्यटन आकर्षणको रूपमा पहिचान गरेर त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताए।1744207606918

“हामीले यसलाई आधार वर्षका रूपमा लिएर नमुना प्रदेश बनाउने लक्ष्य लिएका छौं,” मुख्यमन्त्री कार्कीले भने, “प्रदेशमा रहेका प्राकृतिक सम्पदा, धार्मिक स्थल र सांस्कृतिक विविधतालाई जगेर्ना गर्दै पर्यटनलाई आर्थिक रुपान्तरणमा लैजाने योजनासहित अघि बढेका छौं।”

मुख्यमन्त्री कार्कीले धार्मिक पर्यटन सम्भावनामा विशेष जोड दिँदै बाराहक्षेत्र, हलेसी, माङसेबुङ लगायतका विशिष्ट स्थलहरूको प्रवर्द्धनबाट पर्यटन वर्षलाई सफल बनाउन सकिने बताए। उनले यी स्थलहरूमा धार्मिक तथा साहसिक पर्यटकलाई आकर्षित गर्न आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार र निजी क्षेत्रको सहकार्यमा जोड दिए।1744207609560

कार्यक्रममा प्रदेश सरकारका अन्य पदाधिकारीहरूले पनि स्थानीय तहसँग समन्वय गरेर पर्यटन पूर्वाधार निर्माण गर्ने, वातावरणमैत्री र दिगो पर्यटन प्रवर्द्धन गर्ने र युवाहरूलाई पर्यटन क्षेत्रमा स्वरोजगारका अवसर उपलब्ध गराउने योजना अघि सारिएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले बताए ।

पर्यटन वर्ष २०८२ को शुभारम्भसँगै विभिन्न जिल्लामा पर्यटन महोत्सव, सांस्कृतिक कार्यक्रम, सूचना केन्द्रको स्थापना र प्रचारात्मक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताए ।1744207622244

कोशी प्रदेशको पर्यटन वर्ष २०८१ केबल एउटा उत्सव मात्र नभई प्रदेशको समृद्धिको आधार तयार पार्ने अवसरको रूपमा लिइएको छ। राजनीतिक नेतृत्व, नीति निर्माता, व्यवसायी र स्थानीय समुदायको समन्वयमा यदि घोषणालाई कार्यान्वयनमा रूपान्तरण गर्न सकियो भने कोशी प्रदेश नेपालको प्रमुख पर्यटकीय केन्द्रको रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ।

134438349koshi p 1.jfif