तेह्रथुम – कोशी प्रदेश सरकारले घोषित गरेको "पर्यटन वर्ष २०८२" को औपचारिक शुभारम्भ भोलि बुधबार हुँदैछ। प्रदेशको समग्र पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणका लागि मनाउन लागिएको पर्यटन वर्षको उद्घाटन कार्यक्रम कोशी प्रदेशको प्रख्यात प्राकृतिक र पर्यटकीय स्थल तीनजुरे–मिल्के क्षेत्रमा आयोजना गरिनेछ। उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।
पर्यटन वर्ष एक वर्ष लामो अभियान हुने छ जसमा प्रदेशका प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यहरूको प्रवर्द्धन र विकासमा जोड दिइनेछ। प्रदेश सरकारले पर्यटनलाई रोजगारी, आर्थिक वृद्धिको प्रमुख माध्यमको रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
मुख्यमन्त्री तथा मूल आयोजक समितिका अध्यक्ष हिक्मतकुमार कार्कीका अनुसार, कोशी प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ। त्यसलाई सदुपयोग गर्दै प्रदेशलाई समृद्ध बनाउने रणनीतिमा पर्यटन वर्षको आयोजना गरिएको हो। उनका अनुसार तीनजुरे–मिल्के क्षेत्रबाट सुरु हुने अभियानले पूर्वी पहाडका पर्यटन गन्तव्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास हुनेछ।
पर्यटन वर्षलाई सफल बनाउन प्रदेश सरकारले विभिन्न पूर्वाधार निर्माण र व्यवस्थापन कार्यमा पनि ध्यान दिइरहेको छ। विशेषगरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकहरूलाई सहज बनाउन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा सीमावर्ती नाकाहरूमा ‘टुरिस्ट स्टिकर’ प्रणाली लागू गरिनेछ।
यस अन्तर्गत पर्यटकीय बस तथा अन्य सवारी साधनहरूमा आउने र जाने मिति उल्लेखित स्टिकर टाँसिनेछ। यस्ता सवारी साधनहरूलाई यात्रा अवधिभर चेकजाँच नगर्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ। यसले पर्यटकलाई सहज, सुरक्षित र झन्झटरहित यात्रा अनुभव दिने विश्वास लिइएको छ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक आस्था र सांस्कृतिक सम्पदाले भरिपूर्ण कोशी प्रदेशमा पर्यटकीय सम्भावनाहरू व्यापक छन्। विशेष गरी धरान, इलाम, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा जस्ता पहाडी जिल्लामा अनेकौं अवलोकन योग्य स्थलहरू छन्।
तीनजुरे–मिल्के–जलजले क्षेत्र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने पाथीभरा, धार्मिक गुफा र तीर्थस्थलहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्दै आएका छन्। अब सरकारको समन्वयमा हुने प्रवर्द्धनले ती गन्तव्यहरूलाई थप विकसित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कोशी प्रदेशको पर्यटन वर्ष २०८२ केवल एक सरकारी कार्यक्रम नभई, यसले स्थानीय जनजीवन, व्यवसाय, रोजगारी र संस्कृतिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको उपस्थितिमा हुने उद्घाटन कार्यक्रमले अभियानलाई थप ऊर्जा दिनेछ। प्रदेशवासी, व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा आम नागरिकको सहकार्यमा यो अभियान सफल हुने विश्वास गरिएको छ।