भोजपुर | मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८२ बैशाख १ र २ गते भोजपुरको चखेवामा रैथाने खाना महोत्सव हुने भएको छ ।
नयाँ वर्ष २०८२ मा मुन्दुम पदमार्गको चखेवा जाऔं रैथाने खाना र स्थानीय संस्कृतिमा रमाऔं भन्ने नारा सहित मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको संयोजकमा महोत्सव हुन लागेको छ ।
महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने छन् । महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनीमा रहने छ ।
महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तृति रहने आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार रैथाने खाना महोत्सवले प्रवद्र्धन गर्न मद्दत गर्ने बताउनु भयो । कृषि, पर्यटन र स्थानीय संस्कृतिलाई एकैसाथ प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।"कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाले स्थानीय क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान दिने अपेक्षा गरिएको छ। गाउँपालिकाले ''मुन्दुम भ्रमण वर्ष २०२५" अन्तर्गत माघ १ गतेदेखि ५ गतेसम्म सांस्कृतिक पर्यटन तथा कृषि मेला समेत गरि सकेको छ ।
कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित चैत्र २७ गते ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँ चैत २७ गते तिनजुरे मिल्के जलजले क्षेत्रमा गर्ने भएको छ।