सुनसरी | आउँदो वर्ष २०८२ कोशी पर्यटन वर्षका रूपमा मनाउनका लागि तयार गरिएको नारा, लोगो, र मस्कट सार्वजनिक गरिएको छ। पर्यटन वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै पर्यटन वर्षका प्रमुख ब्रान्डहरू सार्वजनिक गरेको हो।

पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका अनुसार सार्वजनिक रूपमा आह्वान गरिएका छ वटा प्रस्तावमध्ये उत्कृष्ट लोगो र मस्कट चयन गरिएको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले तिनजुरे मिल्के जलजले क्षेत्रबाट गर्नेछन्। मन्त्री मण्डलले कोशी प्रदेशका प्रमुख चार धार्मिक गन्तव्यहरू तथा पर्यटन पदमार्गहरूलाई विशेष प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धन गर्ने योजना सुनाए। धार्मिक पर्यटन प्रवर्द्धनका क्रममा वराह क्षेत्र, हलेसी, पाथीभरा, र रामधुनीलाई विशेष रूपमा प्रचार-प्रसार गरी ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

पर्यटन वर्षका लागि सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री मण्डलका अनुसार यस अभियानले पर्यटक आकर्षित गर्दै प्रदेशका रमणीय पर्यटकीय स्थलहरूलाई अझ उजागर गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन वर्षको मस्कट लोपोन्मुख तथा आकर्षक हिमाली जनावर रेड पाण्डा (हाब्रे) लाई बनाइएको छ। लोगोमा भने नेपाली राष्ट्रिय झण्डाको संरचनासहित विश्वमा कोशी टप्पुमा मात्र पाइने अर्नाको प्रतीक, सगरमाथा, पहाड, तराई, कोशी नदी, तथा प्राकृतिक सम्पदा झल्काउने अन्य प्रतीकहरू समावेश छन्।

सचिव घिमिरेले ‘कोशीको गौरव, हिमालको सान; पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित पर्यटन वर्षको मुल नारा ‘रमणीय कोशी’ तय गरिएको जानकारी दिए।

पर्यटन वर्ष २०८२ निर्देशक समितिका सह-संयोजक भविषकुमार श्रेष्ठले तयारीका क्रममा भइरहेका कार्यहरूको जानकारी गराए। उनका अनुसार कोशी प्रदेशमा १४ प्रमुख पर्यटकीय गन्तव्य छन् भने पर्यटन वर्षसहित १६ नयाँ पर्यटकीय स्थलको विकास आवश्यक छ।

श्रेष्ठका अनुसार प्रदेशमा तारे स्तरका १२ वटा होटल, पर्यटकीय स्तरका ३६ वटा होटल, तथा निजी तथा सामुदायिक गरी १०५ वटा होमस्टे सञ्चालनमा छन्।