पाँचथर । यस वर्षको आठौँ फालेलुङ चौरी पर्यटन महोत्सव २०८२ आगामी चैत्र ३१ गतेदेखि वैशाख २ गतेसम्म पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–४, चारराते क्षेत्रमा भव्य रूपमा आयोजना गरिने भएको छ। फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकहरूले यस महोत्सवको औपचारिक जानकारी गराउँदै, कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण, चौरीपालनको महत्व उजागर गर्नुका साथै नेपाली मौलिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउनु रहेको बताएका छन्।
महोत्सवको मुख्य आयोजक फालेलुङ गाउँपालिका रहेको छ भने सहआयोजक संस्थाहरूमा फालेलुङ कञ्चनजङ्घा पर्यटकीय प्रवर्द्धन संस्था, दिप ज्योति युवा क्लब, र कञ्चनजङ्घा चौरी पालन तथा संरक्षण संस्था पाँचथर रहेका छन्। आयोजकहरूको अनुसार, यस महोत्सवले सीमावर्ती पर्यटनको माध्यमबाट नेपालको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास लिइएको छ। साथै, महोत्सवले नेपालको प्राकृतिक सम्पदा, स्थानीय संस्कृतिको प्रवर्द्धन, र पर्यावरणीय पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्य राखेको छ।
महोत्सवले लोपोन्मुख चौरी, रेडपाण्डा लगायतका दुर्लभ वन्यजन्तुको संरक्षणमा ध्यान केन्द्रित गर्नुका साथै उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, महोत्सवमार्फत नेपाली अर्गानिक उत्पादनहरूको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारलाई आकर्षित गर्न विशेष पहल गरिनेछ।
फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले महोत्सवको महत्व दर्शाउँदै यस कार्यक्रम नेपाली समुदाय र पर्यटकीय विकासको लागि महत्वपूर्ण अवसर हुने बताए। उनले महोत्सवले पर्यटन मार्फत स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
यस महोत्सवमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्। झाँकी प्रदर्शन, याक डान्स, परम्परागत खेलहरू जस्तै डोरी तान्ने, छेलो हान्ने, चौरीपालकहरूको हुर्कुत पड्काउने प्रतियोगिता, मैत्रीपूर्ण फुटबल खेल, साथै १५०० भन्दा बढी चौरीको प्रदर्शनी महोत्सवको आकर्षणको केन्द्रबिन्दु बन्नेछन्। यसका साथै, विभिन्न क्षेत्रका सम्मानित व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरिनेछ। साथै, चर्चित हाँस्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङले विशेष प्रस्तुति दिनेछन्, जसले महोत्सवलाई झनै रोचक बनाउनेछ।
नेपालमा पहिलो पटक २०७४ सालमा सुरु भएको यो महोत्सव एसियाकै विशेष चौरी पर्यटन महोत्सवको रूपमा परिचित छ। यस महोत्सवले नेपाललाई चौरी पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्याउने विश्वास गरिएको छ। स्थानीय बासिन्दा, पर्यटक व्यवसायी, तथा चौरीपालकहरू यस कार्यक्रमलाई सफल बनाउन जुटेका छन्। यो महोत्सवले नेपालको पर्यटन उद्योगमा थप चमक थप्ने अपेक्षा गरिएको छ।