विराटनगर | कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रूपमा घोषणा गरेको छ। सोही घोषणा अनुरूप पर्यटन वर्षको औपचारिक शुभारम्भ यही २०८१ साल चैत्र २७ गते तेरथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्रस्थित लालीगुराँस नगरपालिका, आर आर गार्डेनमा गरिने भएको छ।
यसै सन्दर्भमा, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई वहाँकै निवास बालुवाटारमा भेटी उक्त समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन निमन्त्रणा गर्नुभएको छ।
प्रधानमन्त्रीसँग भएको भेटघाटमा कोशी प्रदेशको पर्यटन सम्भावना, पर्यटन प्रवर्द्धनका उपायहरू तथा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को औचित्यबारे छलफल भएको मन्त्री मण्डलले जानकारी दिनुभएको छ।
कोशी प्रदेश प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक धरोहरले भरिपूर्ण रहेको क्षेत्र भएकाले पर्यटन वर्षले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रदेश सरकारले विभिन्न पूर्वाधार विकास, प्रचार-प्रसार तथा स्थानीय समुदायको संलग्नतामा विशेष ध्यान दिने योजना बनाएको छ।
पर्यटन वर्ष सफल बनाउन सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री मण्डलले सम्पूर्ण सरोकारवालाहरूलाई यस अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ।