सुनसरी । कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित आगामी चैत्र २७ गते ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ। प्रदेश सरकारको यो महत्त्वाकांक्षी योजनालाई सफल बनाउन विभिन्न पक्षसँग छलफल र परामर्शलाई तीव्र बनाइएको छ। पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकाय, विज्ञ तथा स्थानीय समुदायको सक्रिय सहभागितामा हाल प्रदेशका विभिन्न जिल्लामा अन्तरक्रिया कार्यक्रमहरू आयोजना भइरहेका छन्।

यसै सन्दर्भमा, झापाको मेचीनगरस्थित पर्यटन कार्यालय काँकरभिट्टाको संयोजनमा एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सीका प्रतिनिधिहरू, यातायात क्षेत्रका अगुवा, पर्यटन पत्रकार तथा स्थानीय पर्यटन अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफल कार्यक्रम पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भवेस श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो।

छलफलका क्रममा पर्यटन व्यवसायीहरूले व्यवसाय दर्ता तथा नविकरण प्रक्रियालाई सहज बनाउन माग गरे। विशेष गरी, व्यवसाय दर्ता तथा अनुमतिपत्र लिनुपर्ने झन्झटिलो प्रक्रिया हटाई अनलाइन प्रणालीमार्फत सहज बनाउनु पर्नेमा उनीहरूले जोड दिए।

भारतीय पर्यटकहरूको नेपाल भ्रमणलाई थप सरल बनाउन सवारीसाधनमा पहिचानका लागि पहेँलो स्टिकर टाँस्ने तथा सीमाक्षेत्रका चेकपोस्टहरूलाई ‘एकद्वार प्रणाली’ मा ल्याउने विषयमा पनि छलफल गरियो। पर्यटन व्यवसायीहरूले सीमाक्षेत्रमा प्रचारप्रसार सामग्रीहरू जस्तै ठूला होर्डिङ बोर्डहरू राख्नुपर्ने, सूचना केन्द्रहरू स्थापना गर्नुपर्ने तथा डिजिटल प्रविधिको भरपूर उपयोग गर्नुपर्ने सुझाव दिए।

होटल व्यवसायीहरूले होटल तथा पर्यटन पूर्वाधारलाई अझ व्यवस्थित र पर्यटकमैत्री बनाउनु पर्ने आवश्यकता औंल्याए। होटल तथा रेस्टुरेन्टहरूको सेवा स्तरवृद्धि गर्नुपर्ने, पर्यटकहरूको सुरक्षाका लागि प्रभावकारी उपायहरू अपनाउनुपर्ने र गुणस्तरीय सुविधा विस्तार गर्नुपर्ने विषय छलफलमा उठाइयो। हिमाली क्षेत्रहरूमा ट्रेकिङ तथा साहसिक पर्यटन प्रवर्द्धन गर्न विशेष योजना बनाउनुपर्ने विषयमा पनि व्यापक छलफल गरियो।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न नीतिगत तथा कानुनी सुधार गर्दै आएको जानकारी दिए। उनले व्यवसायीहरूको समस्यालाई मध्यनजर गर्दै सरकार नीति तथा कानुनलाई सहज बनाउने प्रक्रियामा रहेको बताए।

 कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष तथा ग्रामीण पर्यटन अभियन्ता अर्जुन कार्की, अभियन्ता मञ्जिल सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठ, होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेल, ट्राभल व्यवसायी नेत्र कार्की, पर्यटन पत्रकार संघ झापाका अध्यक्ष विनोद पाण्डे, फोटोपत्रकार धर्मराज प्रसाई, यातायात व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र रिजाल, चरा तथा वन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेल, व्यवसायी ध्रुव गिरी, विष्णु श्रेष्ठ लगायतका व्यक्तित्वहरूले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए।

पर्यटन व्यवसायीहरूले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउनका लागि विभिन्न विशेष कार्यक्रमहरू आयोजना गर्नुपर्ने धारणा राखे। विशेष गरी, नेपाल भित्रिने पर्यटकहरूलाई स्वागत गर्ने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने, नेपाली कला, संस्कृति तथा परम्परालाई प्रवर्द्धन गर्ने, स्थानीय पर्यटन गन्तव्यहरूको प्रचारप्रसार गर्ने र पर्यटन पूर्वाधारको विकासलाई तीव्रता दिने विषयमा उनीहरूले जोड दिए।

कार्यक्रमको सञ्चालन पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरज कट्टेल ले गरेका थिए। छलफल कार्यक्रममा पर्यटन वर्ष निर्देशन समिति सदस्य बाशस बराल, होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल, नाटा कोशीका महासचिव नविन खरेल, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होमस्टे सञ्चालन समिति कोशी प्रदेशकी अध्यक्ष लीलादेवी भट्टराई, पर्यटन कार्यालय धरानका प्रमुख भिसन राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। छलफल कार्यक्रमबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै पर्यटन प्रवर्द्धनका लागि ठोस नीति तथा रणनीति अपनाइने प्रदेश सरकारका प्रतिनिधिहरूले बताएका छन्। यदि यी योजनाहरूलाई व्यवहारमा उतार्न सकियो भने कोशी प्रदेशको पर्यटन क्षेत्रले उल्लेखनीय उचाइ लिने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।