संखुवासभा | संखुवासभाको चिचिला गाउँपालिका-४ र ३ को सीमाक्षेत्र कप्तानेमा मकालु हिरक पार्क निर्माणाधीन अवस्थामा रहेको छ। उत्तर-दक्षिण कोशी राजमार्गको छेउमा अवस्थित यो पार्कलाई चिचिला गाउँपालिकाले बहुआयामिक बनाउने लक्ष्य लिएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय पूर्वाधार, तथा खेलकुद सुविधालाई समेटेर पार्कलाई आकर्षक बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ ।
चिचिला गाउँपालिकाले यो पार्कलाई पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने योजनाअन्तर्गत विभिन्न संरचनाहरू निर्माण गरिरहेको छ। हालसम्म फराकिलो खेलमैदान, मकालु हिमालको प्रतिमा, आकर्षक पाटीहरू, पर्यटक सूचना केन्द्रको भवन, तथा आधुनिक शौचालयहरू निर्माणाधीन अवस्थामा छन्। यिनै संरचनाहरूले भविष्यमा स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
पार्कसम्म पुग्न चिचिला गाउँपालिकाले विशेष पर्यटन मार्गको विकास गरिरहेको छ। चिचिला बजारबाट ओरालो झरेपछि मत्स्यपोखरी घुम्दै धजे गाउँ हुँदै पार्कसम्म पुग्ने मार्ग निर्माण गरिएको छ। यसै मार्ग हुँदै आउने पर्यटकले यात्रा गर्दा प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति र जीवनशैली अवलोकन गर्न सक्छन्।
मकालु हिरक पार्कको विशेषता भनेकै यहाँबाट देखिने हिमालय श्रृंखला हो। यो पार्कबाट मकालु हिमाल, कञ्चनजंघा तथा अन्य हिमश्रृंखलाहरू निकै नजिकबाट देख्न सकिन्छ, जसले पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। खासगरी, घाम उदाउने तथा अस्ताउने समयमा हिमालमा पर्ने सुनौलो किरणले दृश्यलाई झनै मनोरम बनाउने गर्छ।
यो पार्कको अर्को महत्वपूर्ण विशेषता भनेको कप्ताने पोखरी हो। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो पोखरीसँगै विभिन्न देवीदेवताका थानहरू रहेका छन्। स्थानीय किम्वदन्तीअनुसार, कप्ताने पोखरीसँग सम्बन्धित रोचक कथाहरू रहिआएका छन्। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने यस क्षेत्रमा बर्सेनि विशेष पूजाआजा हुने गर्दछ।
चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा का अनुसार, "मकालु हिरक पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य रहेको छ। पार्क निर्माण पूरा भएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने आशा गरिएको छ।"
मकालु हिरक पार्क घुमेपछि पर्यटकले पदमार्ग हुँदै बलुथाम डाँडा पुग्न सक्छन्। बलुथाम डाँडाबाट ओरालो झरेर कुवापानी हुँदै वडा नम्बर ३ र २ का अन्य पर्यटन क्षेत्रहरूमा पुग्ने योजना चिचिला गाउँपालिकाले बनाएको छ। यसरी, पार्कलाई मुख्य आकर्षण केन्द्र बनाउँदै अन्य पर्यटकीय स्थलहरूसँग जोड्ने योजनाले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यो पार्कको विकासले चिचिला गाउँपालिकासहित संखुवासभा जिल्लाभरको पर्यटन क्षेत्रलाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ। पार्क निर्माण सम्पन्न भएपछि यहाँ होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायहरू फस्टाउँदै जानेछन्, जसले स्थानीय समुदायलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्नेछ।
चिचिला गाउँपालिकाले पर्यटकीय पूर्वाधार विकास गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने योजनासमेत बनाएको छ। पर्यटकलाई स्थानीय संस्कृति, परम्परा, खानपान, तथा हस्तकला अनुभव गराउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
मकालु हिरक पार्कको निर्माण कार्य सम्पन्न भएपछि यो क्षेत्र संखुवासभाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ। हिमालयको अनुपम दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक सम्पदा, खेलकुद तथा अन्य पूर्वाधारले गर्दा यो पार्क स्थानीय र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ। साथै, यसले स्थानीय पर्यटन उद्योगलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धि ल्याउने महत्त्वपूर्ण भूमिका खेल्नेछ।




















