उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले कृषि, उद्योग र पर्यटन क्षेत्रको प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले कृषि बियय अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति अवलम्बन गरिरहेको जानकारी गराउँदै सहकारी क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । साथै, उनले अब अनुदानको सट्टा उद्यमीहरूलाई ब्याजमा सहुलियत दिने नीति लागू गरिने जानकारी दिए।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले महोत्सवले उर्लाबारीको आर्थिक गतिविधिलाई चलायमान बनाएको बताएका छन् । उनले किसानको काँचुली नफेरिएको प्रति गुनासो गर्दै जनप्रतिनिधि, कर्मचारी र समाजसेवीको काँचुली कसरी फेरिएको हो ? यसको छानबिन हुनुपर्ने बताएका छन् । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोवद्र्धन शाक्य, एमाले नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, संघका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रदेश सांसद विद्या चाम्लिङ, नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडा अध्यक्ष कल्याणकुमार राई, संघका पूर्वअध्यक्षहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ लिम्बूले महोत्सवबाट संकलित आम्दानी स्थानीय व्यावसायिक सुरक्षाका लागि खर्च गरिने बताए। उनले आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गर्ने तथा बजार सौन्दर्यीकरणका लागि रकम विनियोजन गरिने जानकारी दिए।
महोत्सव व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर भट्टराई भरतले ११ दिनसम्म सफलतापूर्वक महोत्सव सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै महोत्सवमा दुई लाख मानिसहरूले अवलोकन गरेको र ३ करोड रुपैयाँको कारोबार भएको जानकारी गराएका छन्। ।
११ दिनसम्म चलेको महोत्सवमा अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तुहरू, हस्तकला सामग्री, घरेलु उत्पादन, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्था, होटल, रेस्टुरेन्ट, फर्निचर, जडिबुटी, औषधिजन्य वस्तुहरू प्रदर्शनीमा राखिएका थिए। बाल उद्यान, मनोरञ्जनात्मक खेल, तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण बनेका थिए।
महोत्सवले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै व्यावसायिक तथा पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गरेको आयोजकहरूको निष्कर्ष रहेको छ। सो अवसरमा विभिन्न व्यावसायिक व्यक्तित्व, व्यापारिक व्यक्तित्व , शैक्षिक ब्यक्तित्व तथा विद्यार्थीहरू लगायतलाई सम्मान गरिएको थियो।




















