इटहरी | कोशी प्रदेशको प्रमुख पर्यटकीय केन्द्र इटहरीबाट तीन दिने इष्टर्न टुरिजम मार्ट सुरू भएको छ। पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आयोजना गरिएको पाँचौं इष्टर्न टुरिजम मार्ट नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न हुँदैछ ।

मार्टको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इटहरीको सोल्टी वेष्टन होटलमा गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, पर्यटन व्यवसायी, होटल व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना अघि सार्दै, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको लगानी बढाइने बताउनुभयो। उहाँले छिमेकी मुलुकहरूसँगको पर्यटन समन्वयलाई बलियो बनाउँदै प्रदेशको आर्थिक वृद्धिमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मसिंह ऐरले इष्टर्न टुरिजम मार्टजस्तो कार्यक्रमहरूले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने बताउनुभयो।

"नेपालका पूर्वी क्षेत्रका पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्न यस्ता कार्यक्रमहरू आवश्यक छन्। निजी क्षेत्र र सरकारबीचको सहकार्य अझ प्रभावकारी बनाउन पर्यटन बोर्ड निरन्तर लागिरहेको छ। पर्यटन पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा हामी प्रतिबद्ध छौँ," ऐरले भन्नुभयो।

उहाँका अनुसार, इष्टर्न टुरिजम मार्टले विशेष गरी भारत र भुटानका पर्यटकलाई आकर्षित गर्ने तथा कोशी प्रदेशका प्राकृतिक, साँस्कृतिक र धार्मिक गन्तव्यहरूको प्रचार गर्ने अवसर प्रदान गर्नेछ।

मार्टका एक अगुवा भविष्य श्रेष्ठले मार्टलाई पूर्व नेपालको पर्यटन क्षेत्रको विकास र ब्राण्डिङ गर्न यो कार्यक्रमको सुरुवात गरिएको बताए ।

इष्टर्न टुरिजम मार्टमा भारतका तीन प्रमुख प्रदेश— पश्चिम बंगाल, बिहार, सिक्किम तथा भुटानबाट गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मीहरू सहभागी भएका छन्। नेपालका विभिन्न स्थानबाट समेत पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको छ।

यस मार्टमा १५० वटा स्टल राखिएको छ, जहाँ स्थानीय हस्तकला, पर्यटन क्षेत्रसँग सम्बन्धित उत्पादनहरू, होटल तथा ट्राभल कम्पनीहरूको प्रदर्शनी गरिएको छ। विशेष गरी कोशी प्रदेशका पर्यटन गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यी स्टलहरू राखिएको आयोजक समितिले जनाएको छ ।

फागुन २६ गते मार्टमा सहभागीहरूलाई कोशी प्रदेशका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्रको भ्रमण गराइने कार्यक्रम तय गरिएको छ। भ्रमण अन्तर्गत धरान, भेडेटार, बराहक्षेत्र, कोशी टप्पु, रामधुनी लगायतका गन्तव्यहरू समावेश छन्।

यस्तै, फागुन २६ गतेकै दिन पर्यटनमा चासो राख्ने स्थानीय बासिन्दा, व्यवसायी तथा विद्यार्थीहरूका लागि मार्टका स्टलहरूको अवलोकन कार्यक्रम तय गरिएको छ। यसले स्थानीय स्तरमै पर्यटनप्रति जागरूकता बढाउने आयोजकहरूको अपेक्षा छ।

मार्टमा पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने ६ जना व्यवसायीहरूलाई सम्मानित गरिने भएको छ। नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक उदय भट्टराईका अनुसार, पर्यटन विकासका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई "पर्यटन अवार्ड" प्रदान गरिने छ।

यस अवसरमा पहाडी तथा तराई समुदायको प्रतिनिधित्व गर्ने घरहरूको आधुनिक तर परम्परागत स्वरूप समेत झल्कने गरी मञ्चको निर्माण गरिएको थियो।

फागुन २७ गते, विराटनगरको होटल इष्टर्न स्टारमा भव्य समारोहबीच मार्टको समापन गरिनेछ। समापन कार्यक्रममा पनि पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय समन्वय, नीति निर्माण र आगामी योजनाहरूबारे छलफल गरिने बताइएको छ।

कोशी प्रदेश सरकारले २०८२ साललाई "प्रदेश भ्रमण वर्ष" का रूपमा मनाउने घोषणा गरिसकेको छ। यस सन्दर्भमा इष्टर्न टुरिजम मार्टले महत्वपूर्ण भूमिका खेल्ने आयोजक समितिका सचिव वासुदेव बरालले बताउनुभयो।

कार्यक्रम संयोजक देवी गौतम (रविन) का अनुसार, यस प्रकारका कार्यक्रमले पर्यटन क्षेत्रमा निजी क्षेत्र र सरकारी निकायहरूबीच सहकार्यलाई बढाउनेछ।

इष्टर्न टुरिजम मार्ट स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको महत्वपूर्ण मञ्च सावित हुने अपेक्षा गरिएको छ। यसले कोशी प्रदेशको पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, स्थानीय व्यवसायीहरूलाई पर्यटन उद्योगमा आकर्षित गर्ने तथा सरकारी र निजी क्षेत्रको सहकार्यलाई सुदृढ बनाउने विश्वास गरिएको छ।

यस प्रकारका कार्यक्रमले नेपाललाई पर्यटनको वैश्विक नक्शामा अझ मजबुत बनाउने आशा गरिएको छ।