संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिकाले पर्यटन वर्ष २०८२ तीनजुरे मिल्के, जलजले (टिएमजे) क्षेत्रमा मनाउने निर्णय गरेको छ। कोशी प्रदेश सरकारले रमणीय कोशी भन्ने नाराका साथ पर्यटन वर्ष २०८२ मनाउने तयारी गरेको थियो।

गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के, जलजले (टिएमजे) सहित ८२ वटा पर्यटकीय स्थलहरूको पर्यटकीय गन्तव्य तोकेको छ। टिएमजे क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजाति एकै ठाउँमा हेर्न पाइनु नै हो। टिएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेरेर पर्यटकहरू लठ्ठ हुने गर्छन् ।

मादी नगरपालिकाले पर्यटन वर्ष २०८२ लाई मादी नगरपालिका-१ स्थित टिएमजे क्षेत्र चौकीमा मनाउने निर्णय गरेको मादी नगरपालिका प्रमुख प्रशासकी अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए। केही दिन अघि बसेको कार्यपालिका बैठकले प्रदेश सरकारको सहकार्यमा पर्यटन वर्ष २०८२ मादी नगरपालिका -१ चौकी स्थित गुराँसको राजधानी टिएमजे क्षेत्र मनाउने निर्णय भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

त्यस्तैगरी कार्यपालिका बैठकले मादी नगर क्षेत्रका  सीमसार क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषण गर्दै पर्यटकीय क्षेत्रमा समावेश गर्न कोशी प्रदेश सरकारलाई सिफारिस गरेको छ।

सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा भएको बैठकमा पर्यटन क्षेत्रमा विभिन्न योजनाहरू कार्यान्वयन गर्ने विषयमा पर्यटन वर्ष सफल बनाउन मूल आयोजक समितिको पहिलो बैठक आयोजना गरिसकेको छ ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा भएको उक्त बैठकले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै तिनको प्रवर्द्धनमा प्राथमिकता दिने निर्णय गरेको हो । बैठकले कोशीटप्पुबाट सुरु भएको यो प्रक्रिया प्रदेशका १४ वटै जिल्लामा निरन्तरता दिने योजना सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले ८२ प्रमुख पर्यटकीय गन्तव्यहरूको सूची तयार पारेको छ। ती गन्तव्यको विकास, संरचना निर्माण, र प्रचार-प्रसारमा विशेष ध्यान दिने योजना बनाइएको छ । मुख्य गन्तव्यहरूमा चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग, र मुन्दुम पदमार्गलाई विशेष प्राथमिकता दिइनेछ।

पर्यटन पूर्वाधारको विकासका लागि प्रदेश सरकारले १ अर्ब ७ करोड रुपैयाँको बजेट छुट्याएको छ भने पर्यटन वर्षका विशेष कार्यक्रमका लागि १० करोड रुपैयाँको बजेट विनियोजन गरिएको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनुभयो । यी गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सरकारले दिर्घकालीन रणनीति अपनाउनेछ।