भोजपुर | नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अगाडि बढाइएको छ। यो पदमार्ग किराँत समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भूगोललाई समेट्दै विकसित गर्न लागिएको महत्वाकांक्षी योजना हो।
पदमार्गको प्रारम्भिक योजना अनुसार, सुनसरीको कोशी टप्पु बाट सुरु भई उदयपुरको वेलका नगरपालिका (मैनामैनी), भोजपुरको हतुवागढी (माइबेनी, हसनपुर) हुँदै सेल्मे र तावाभञ्याङ सम्म विस्तार गरिनेछ। यस पदमार्गले किराँत सभ्यताको विभिन्न ऐतिहासिक स्थलहरूलाई आपसमा जोड्दै प्राकृतिक सौन्दर्यको साथसाथै धार्मिक, सांस्कृतिक, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिएको छ।
पदमार्ग निर्माणका लागि स्थानीय तहको सहकार्य
ग्रेटर मुन्दुम पदमार्गको सफल कार्यान्वयनका लागि भोजपुरका हतुवागढी, आमचोक, र रामप्रसादराई गाउँपालिकाले संयुक्त बैठक गरेका छन्। तीनै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा आयोजित बैठकमा पदमार्ग निर्माण समितिहरूलाई आवश्यक अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
हतुवागढी गाउँपालिकामा आयोजित कार्यक्रममा परियोजनाका कर्मचारी तथा स्थानीय इन्जिनियरहरूले पदमार्ग निर्माणको गुणस्तर सुधार र दीर्घकालीन प्रभावबारे जानकारी गराए। उनीहरूले पदमार्ग निर्माणका दौरानमा अपनाउनुपर्ने प्राविधिक पक्ष, वातावरणीय प्रभाव मूल्यांकन, भौतिक संरचनाको मजबूती, र स्थानीय स्रोत साधनको उचित प्रयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
तर, हाल प्रस्तावित ग्रेटर मुन्दुम पदमार्गले किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ क्षेत्र समेटेको छैन। यसैले धनकुटा, उदयपुर, र भोजपुरका सात वटा स्थानीय तहहरूबीच छलफल गरी खुवालुङ क्षेत्रलाई समेत समेट्ने पहल भइरहेको छ।
हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई का अनुसार, खुवालुङ क्षेत्रलाई समावेश नगरी पदमार्गलाई पूर्णता दिन सकिंदैन। यस कारण सरोकारवाला निकायहरूसँग छलफल गरी उक्त क्षेत्रलाई पनि पदमार्गमा समावेश गर्ने योजना बनाइँदैछ।
आर्थिक स्रोत र साझेदारी मोडेल
चार वर्षभित्र निर्माण गरिने ग्रेटर मुन्दुम पदमार्गका लागि विभिन्न तहका सरकारहरूले संयुक्त लागत साझेदारी गरेका छन्। परियोजनाको कुल लागत स्वीस सरकार ५५%, प्रदेश सरकार १९%,स्थानीय सरकारहरू १८%,संघीय सरकार ८% रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ बाट हतुवागढी गाउँपालिकाको हसनपुर, आमचोक गाउँपालिकाको यूँ, र रामप्रसादराई गाउँपालिकाको बैकुण्ठे क्षेत्रमा पदमार्ग निर्माण सुरु गरिएको छ। पहिलो चरणका लागि प्रत्येक गाउँपालिकामा रु. ३० लाख बजेट विनियोजन गरिएको छ।
पदमार्गको रूट: कहाँ-कहाँ पुग्न सकिन्छ?
ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पु बाट सुरु भई उदयपुरको मैनामैनी, भोजपुरको हतुवागढी (माइबेनी, शिला सुत्केरी, संखामचुली), आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसादराई गाउँपालिकाको थामडाँडा, गोल्मे भिर, सुच्चागुफा, नागँछाँगा, पाप्माखामगढी, बतासे, ओख्रे हुँदै टेम्केमैयुङको कपासे भञ्याङ सम्म विस्तार हुनेछ।
यस पदमार्गले तावाभञ्याङमा पहिल्यै निर्माण भइसकेको मुन्दुम पदमार्ग लाई समेत जोड्नेछ। जब यो मार्ग भोजपुरकै सबैभन्दा अग्लो ठाउँ साल्पासिलिचुङ सम्म पुग्छ, यसको कुल लम्बाइ करिब १६८ किलोमिटर हुनेछ।
यो क्षेत्र प्राकृतिक विविधताले भरिपूर्ण छ, जहाँ पर्यटकहरूले हरियाली जङ्गल, बौद्धिक धार्मिक स्थलहरू, विभिन्न जातजातिको परम्परागत बस्ती, र लुकेका पर्यटन स्थलहरू अनुभव गर्न सक्छन्।
स्थानीय पर्यटन र आर्थिक विकासमा प्रभाव
ग्रेटर मुन्दुम पदमार्गको निर्माण भएपछि भोजपुर, उदयपुर, धनकुटा, र आसपासका क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ। पदयात्रा पर्यटनसँगै स्थानीय होमस्टे, होटल, र अन्य पर्यटनसम्बन्धी सेवा व्यवसायहरू विस्तार हुनेछन्।
स्थानीय किसानहरूले संगठित कृषि पर्यटन विकास गर्न सक्नेछन्। विभिन्न जातजातिका हस्तकलाका सामग्रीहरू स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिनेछ। स्थानीय उत्पादन जस्तै अर्गानिक मह, अलैंची, तामा, लोकल फर्निचर, परम्परागत कपडा लगायतका व्यापारको विस्तार हुनेछ। पदमार्गमा पर्ने गाउँहरूमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनेछन्।
यो परियोजनाले पर्यटनको माध्यमबाट स्थानीय आर्थिक समृद्धि, संस्कृति संरक्षण, र स्थानीय पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
किराँत सभ्यता र पर्यटन प्रवर्द्धनमा योगदान
यस पदमार्गको विकासले किराँत संस्कृतिको प्रवर्द्धन मा महत्त्वपूर्ण भूमिका खेल्नेछ। स्थानीय जातीय समुदायहरूको परम्परा, संस्कृति, र धार्मिक मान्यताहरूलाई जोगाउने र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर प्रदान गर्नेछ।
पर्यटकहरूले केवल प्राकृतिक सौन्दर्य मात्र नभई किराँत समुदायको जीवनशैली, परम्परागत संगीत, नृत्य, खाना, भेषभूषा, र अन्य सांस्कृतिक सम्पदाहरूको अनुभव गर्न सक्नेछन्।
खुवालुङ क्षेत्रलाई समेट्ने प्रयास सफल भएमा यो क्षेत्र केवल स्थानीय तथा राष्ट्रिय पर्यटन मात्र नभई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि पनि आकर्षणको केन्द्र बन्न सक्नेछ।
भविष्यको योजना र दीर्घकालीन लक्ष्य
ग्रेटर मुन्दुम पदमार्ग वि.सं. २०८१ देखि २०८५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। पदमार्गलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गाइडहरूमा समावेश गर्ने, स्थानीय पर्यटन व्यवसायीहरूलाई तालिम दिने,सडक पहुँच अभाव भएका ठाउँहरूमा यातायात सुविधा थप्ने, अन्तर्राष्ट्रिय पदयात्रीहरूलाई आकर्षित गर्न डिजिटल प्रवर्द्धन गर्ने आगामी योजना छ ।
यदि यो परियोजना सफलतापूर्वक सम्पन्न भयो भने, भोजपुर, उदयपुर, धनकुटा लगायतका जिल्लाहरू पर्यटन गन्तव्यको रूपमा स्थापित हुनेछन्। यस परियोजनाले नेपालमा पदयात्रा पर्यटनको नयाँ युग सुरु गर्ने आशा गरिएको छ।