सुनसरी | कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको त्यसको तयारी सुरु गरेको छ ।
गत सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका थिए । सोही निर्णय बमोजिम प्रदेश सरकारले बिहिबार पहिलो बैठकको आयोजना गरेको छ । मूख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षको कार्यलयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकले पर्यटन वर्षको तयारी स्वरुप प्रदेशभरका पर्यटन क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धनमा अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले कोशी टप्पुबाट सुरू बैठक प्रदेशका हरेक जिल्लामा आयोजना गरिने निर्णय पनि गरेको छ । पर्यटन वर्ष २०८२ मा १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य रहेको छ । पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोशी प्रदेशमा भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको पर्यटन बन तथा बाताबरण मन्त्री सदानन्द मण्डलले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार भएको र निजि क्षेत्र तयार हुन आवश्यक रहेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले आधार पत्र प्रस्तुत गर्नु भएको हो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को पर्यटका लागि निजि क्षेत्र तप्पर रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशदका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । मुख्य गरि चियाबारी पदमार्ग ,फाल्गुनन्द पदमार्ग,लालीगुराँस पदमार्ग र मुन्दुम पदमार्ग रहेका छन् ।
कोशी प्रदेशले पर्यटन वर्ष–२०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको छ। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष सफल पार्न यी गन्तव्यहरूको विकास, संरचना निर्माण र प्रचारमा विशेष ध्यान दिने बताए। उनका अनुसार, सरकारले पर्यटन वर्षको लागि १० करोड रुपैयाँको विशेष बजेट छुट्याएको छ भने समग्र पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब ७ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।
सो बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिका प्रमुख ,उपप्रमुख , पर्यटन क्षेत्रमा आवद्ध पदाधिकारीहरू, पर्यटन कर्मी ,पर्यटनका निजि क्षेत्रका प्रतिनिधि लगाएत पर्यटन क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा मूल आयोजक समितिको पहिलो बैठक भएको थियो ।