भोजपुर | नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन विकासलाई थप सबल बनाउने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ सुरू भएको छ। एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको यस भ्रमण वर्षले भोजपुर, खोटाङ, र सोलुखुम्बु क्षेत्रको पर्यटकीय महत्त्वलाई उजागर गर्दै यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।

नेपाल सरकारले तोकेको घुम्नै पर्ने १०० गन्तव्यभित्र पर्ने मुन्दुम ट्रेलको प्रवर्द्धनका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले माघ १ गतेदेखि ५ गतेसम्म सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको थियो। मेलामा कविता वाचन, आरोह ब्यान्डको प्रस्तुति, खुला साकेला शिली प्रतियोगिता, धनुषवाण प्रतियोगिता र राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति प्रमुख आकर्षण बनेका थिए। विजेताहरूलाई पुरस्कार वितरण गरी मेलालाई थप स्मरणीय बनाइएको थियो।

मुन्दुम ट्रेल पदमार्गको विकास र प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्षका अवसरमा केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे (गोठबास) महोत्सव तथा साकेला गाउँपालिकामा उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी छ ।

यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस, घोडचढी तथा फिल्म सुटिङ महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन, माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नछोङ (धामी) महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम गर्ने तयारी छ ।

पहिलोपटक आयोजना गरिएको मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि त्यस आसपासका स्थानीयवासीले धमाधम होमस्टे (घरबास) तथा पाहुनाघर निर्माण गरिरहेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।

भ्रमण सफल बनाउन ‘मुन्दुम ट्रेल’सँग जोडिएका विभिन्न स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलाप गर्न अनुरोध गरिएको आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनु भयो ।

सन् २०२५ का लागि स्विस सरकार, संघीय सरकार, प्रदेश सरकार, र स्थानीय तहले लागत साझेदारीमा करिब १ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट छुट्याएका छन्। पदमार्गको स्तरोन्नति र दिगो विकासका लागि यो लगानी महत्त्वपूर्ण हुनेछ।

खोटाङको साकेला गाउँपालिका–३ स्थित तावाभञ्ज्याङबाट सुरु भई भोजपुरको ४,१५३ मिटर अग्लो सिलिचुङ चुचुरोसम्म फैलिएको यो पदमार्ग प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिपूर्ण छ। किराँत संस्कृतिबाट प्रेरित संरचनाहरू, ठूला घाँसे मैदान, हिमालको मनोरम दृश्य, स्थानीय गोठ र जनजीवन पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन्।

भ्रमण वर्षको उद्घाटनसँगै स्थानीय बासिन्दाहरूले पर्यटकहरूको स्वागतका लागि धमाधम होमस्टे र पाहुनाघर निर्माण गरिरहेका छन्। गाउँका परम्परागत शैलीका घरलाई होमस्टेमा परिणत गर्दै पाहुनाहरूलाई स्थानीय खाना, भेषभूषा, र संस्कृतिसँग परिचित गराउने तयारी गरिएको छ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले मुन्दुम ट्रेलको दिगो विकास र समृद्धिका लागि सबै पक्षले साझा प्रतिबद्धता जनाएको बताए। संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पनि पदमार्गको थप विस्तारका लागि तीन वटै सरकार सक्रिय रहेको उल्लेख गर्नुभयो।

यो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि विशेष आकर्षणको केन्द्र बनेको छ। भदौदेखि मंसिरसम्मको समय पदयात्राका लागि उपयुक्त मानिन्छ। यहाँको सन्तुलित हावापानीले पर्यटकहरूलाई हिमाली चिसो र तराईको गर्मीबाट मुक्त गराउँदै आनन्दित बनाउँछ।

मुन्दुम ट्रेलले पर्यटकलाई हिमश्रृंखला, पहाडी भेग, र तराईका समथर फाँटहरूको मनोरम दृश्य अवलोकन गर्ने अवसर प्रदान गर्छ। प्राकृतिक सौन्दर्यसँगै किराँतको संस्कार र संस्कृति झल्किने संरचनाले पर्यटकहरूलाई थप आकर्षित गरेको छ।

मुन्दुम ट्रेल भ्रमण वर्षले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पर्यटनको वृद्धि हुँदै गएपछि होमस्टे, हस्तकला, कृषि उत्पादन, र अन्य स्थानीय व्यवसायहरूमा प्रत्यक्ष फाइदा पुग्नेछ। यसरी, मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ ले नेपालको पर्यटन प्रवर्द्धनमा मात्र नभई, सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।