भोजपुर | ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा माघ १ गतेदेखि सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा खुला साकेला सिली प्रतियोगिता आयोजना गरिएको छ।

किराँत राई समुदायको प्रमुख चाड साकेला मा नाचिने साकेला सिलीको संरक्षण र प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको हो। यो प्रतियोगिता स्थानीय संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले प्रतियोगिताबारे जानकारी दिँदै भने, “युवापुस्तामा साकेला सिलीप्रति चासो र सम्मान जगाउन तथा यसलाई संरक्षण र सम्वर्द्धन गर्न प्रतियोगिताको आयोजना गरिएको हो।”

प्रतियोगितामा विभिन्न नौ समूहले सहभागिता जनाएका थिए। प्रतियोगिता मापदण्ड अनुसार नै संचालन गरिएको र उत्कृष्ट तीन समूहलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै साम्खावुङ भोजपुर पोखरे समूहले प्रथम स्थान हासिल गर्‍यो र नगद २० हजार पुरस्कार जित्यो। दोस्रो स्थान सुम्निमा कृषि सहकारी संस्था देउराली समूहले प्राप्त गर्दै नगद १५ हजार जित्यो भने तेस्रो स्थानमा छिनामखु सिलि समूह रहँदै नगद १० हजार प्राप्त गर्‍यो।

निर्णायक समितिका संयोजक कमलजंग राईका अनुसार प्रतियोगिता निष्पक्ष रूपमा मापदण्डमा आधारित रहेर सम्पन्न गरिएको थियो। मेला समापनको दिन तीनवटा विजेता समूहलाई नगद पुरस्कार वितरण गरिने छ।

यस प्रतियोगिताले स्थानीय स्तरमा हराउँदै गएको परम्परागत नृत्यलाई पुनः जीवन्त बनाउँदै पर्यटन र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले केवल सांस्कृतिक जगेर्ना मात्र नभई, पर्यटन क्षेत्रको विकास र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछन्।

माघ १ गतेदेखि सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला चखेवाभञ्ज्याङ क्षेत्रकै ऐतिहासिक र आकर्षक कार्यक्रमका रूपमा रहँदै आएको छ। यो मेला आगामी दिनमा समेत यस क्षेत्रको सांस्कृतिक पहिचानको सम्बर्द्धन र पर्यटन प्रवर्द्धनमा आधार बन्ने विश्वास गरिएको छ।

IMG-20250116-WA0032