भोजपुर | नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकास्थित मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरिएको छ। "मुन्दुम भ्रमण वर्ष २०२५" अन्तर्गत माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका छन्।
महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुन्दुम पदमार्गलाई संरक्षण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्न यस प्रकारका महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको अवधारणा पत्र प्रस्तुत गर्दै यस पदमार्गलाई दिगो विकासका लक्ष्यसँग जोडेर अघि बढाउनुपर्ने बताए।
मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५ को उद्घाटन गरी मेलामा स्थानीय जातजातिका संस्कार, परम्परा, र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ। यसैगरी, स्थानीय कृषि उत्पादन र परिकारहरूको प्रदर्शनीले पनि पर्यटकहरूलाई आकर्षित गरेको छ। मेलामा कोदो, फापर, किवी, सुन्तला, एवोकाडो, गुन्द्रुक, भुटेको मकैजस्ता जैविक उत्पादनहरूका साथ स्थानीय परिकारहरूको स्वाद लिन पाइन्छ।
गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईका अनुसार, कृषि, पर्यटन र स्थानीय संस्कृतिलाई एकैसाथ प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो। "कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाले स्थानीय क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
महोत्सवका विशेष आकर्षणहरूमध्ये माघ २ गते कवि मिल्सन राईको कविता वाचन र जारोह व्याण्डको प्रस्तुति प्रमुख थिए। यस दिन स्थानीय उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता पनि गरिएको थियो। माघ ३ गते खुला साकेला शिली प्रतियोगिता आयोजना गरिएको छ, जसमा न्यूनतम १० जनाको समूहले सहभागिता जनाएका थिए। गायक ज्वाला राईको विशेष सांगीतिक प्रस्तुति पनि यस दिनको मुख्य आकर्षण बन्यो।
माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता सञ्चालन गरियो। यसै दिन चर्चित हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङले आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवको अन्तिम दिन माघ ५ गते गायक शिव परियारको सांगीतिक प्रस्तुति, स्थानीय कला, साहित्य, र सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएका छन्।
मेलामा उत्कृष्ट कृषि उत्पादनका लागि पुरस्कारसमेत प्रदान गरिएको छ। किवी, सुन्तला, एवोकाडो, रायो साग, तरुल, र मुलाजस्ता उत्पादनहरूलाई विशेष महत्त्व दिइएको छ। महोत्सवको व्यवस्थापन चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले गरेको हो भने समन्वय मैयुङ-टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको छ।
यो महोत्सवले स्थानीय क्षेत्रको पर्यटन, कृषि, र सांस्कृतिक विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।