किसोर निरौला 

मोरङ / उत्तरी मोरङको दुर्गम क्षेत्र भनेर चिनिने मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित रचनि झरना ओझेलमा परेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थान पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावका कारण पर्याप्त प्रचारप्रसार र विकास हुन सकेको छैन।

महेन्द्र राजमार्ग हुँदै उर्लाबारीबाट करिब २७ किलोमिटर उत्तरतर्फ यात्रा गरेपछि इलामको साकफारा सँग जोडिएको यस ठाउँमा पुग्न सकिन्छ। तर, दुर्गम सडकका कारण यहाँ पुग्न कठिनाई हुने गरेको छ।

हालै स्थानीय सरकारले झरनासम्मको पहुँच सहज बनाउनका लागि सडक निर्माणको प्रक्रिया अघि बढाएको छ। यसै आर्थिक वर्षदेखि झरनासम्म पुग्ने सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य थालिएको गाउँपालिकाले जनाएको छ।

स्थानीयका अनुसार, रचनि झरना क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सके यसले न केवल आर्थिक लाभ दिलाउनेछ, तर गाउँको समग्र विकासमा पनि टेवा पुर्‍याउनेछ। साथै, यो झरना प्राकृतिक सौन्दर्यका साथै सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण रहेकोले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको छ।

तर, झरनासम्मको सडक निर्माणसँगै अन्य पूर्वाधार विकासमा पनि प्राथमिकता दिइनुपर्ने स्थानीयको भनाइ छ। झरनालाई चिनाउने प्रयासका साथै यसलाई संरक्षण र प्रवर्द्धन गर्ने योजनामा स्थानीय सरकारले दीर्घकालीन सोच राख्नुपर्ने आवाज पनि उठिरहेको छ।

यदि समयमै आवश्यक काम सम्पन्न गर्न सकियो भने रचनि झरना मोरङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना प्रबल छ।