भोजपुर | नेपाल सरकारले घोषणा गरेको उत्कृष्ट १०० गन्तव्यहरूमध्ये पर्ने टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्गलाई प्रोत्साहन गर्नका लागि "मुन्दुम भ्रमण वर्ष २०२५" अन्तर्गत धनुष वाण प्रतियोगिता आयोजना हुने भएको छ।
गाउँपालिकाको वडा नम्बर ४, चखेवा नागीमा माघ ४ गते बिहान ९ बजे प्रतियोगिता सुरु हुनेछ। यो प्रतियोगिता किराँत समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्दै पर्यटन, कृषि र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई क्रमशः रु ७,०००, रु ४,०००, र रु २,००० का नगद पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रतिस्पर्धीहरूले आफ्नो नाम दर्ता माघ ३ गते साँझ ५ बजेसम्म गरिसक्नुपर्नेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ब्रिकेन पौडेलका अनुसार, यस किसिमका कार्यक्रमले सांस्कृतिक सम्पदाको जगेर्ना गर्नका साथै पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नेछन्।
मेलाको उद्घाटन माघ १ गते प्रमुख अतिथि संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा हुनेछ । उद्घाटन समारोहमा नाक्छोङहरूको मुन्दुमी प्रदर्शनी र जारोह व्याण्डको सांगीतिक प्रस्तुति विशेष आकर्षणको रूपमा प्रस्तुत गरिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनु भयो ।
यस्तै मेलाको अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरूलाई समेत पर्यटन बर्ष र मुन्दुम पदमार्गका विषय समेटिएको अवधारणा पत्र बुझाइने कार्यक्रम रहेको छ ।
मेलामा विभिन्न दिन विशेष कार्यक्रम आयोजना गरिनेछन्। माघ २ गते कवि मिल्सन राईको कविता वाचन, जारोह व्याण्डको प्रस्तुति, र स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता गरिनेछ। प्रतियोगितामा किबि ,सुन्तला ,एभोकाडो रायो साग, मुला, तरुल, र स्कूसजस्ता उत्पादनहरू समावेश हुनेछन्।
माघ ३ गते खुल्ला साकेला शिली प्रतियोगिता हुनेछ, जसमा न्यूनतम १० जनाको समूहले भाग लिनेछन्। यस दिन गायक ज्वाला राईको विशेष सांगीतिक प्रस्तुति हुनेछ।
माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता हुनेछ। यसै दिन चर्चित हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङले प्रस्तुति दिनेछन्। गायक शिव परियारले माघ ५ गते बेलुका सांगीतिक प्रस्तुति दिनेछन् ।
मेलाको अन्तिम दिन, माघ ५ गते, स्थानीय कला, साहित्य, र सांस्कृतिक प्रस्तुति हुनेछ। मेलाका विभिन्न प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। स्थानीय उत्पादनबाट बनेका परिकारहरूको स्वाद लिन पनि पाइनेछ।
मेलाको समन्वय मैयुङ-टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गर्नेछ भने व्यवस्थापन चसेवा बजार तथा शहरीकरण व्यवस्थापन समिति, चखेवाले सम्हाल्नेछ ।