सोलुखुम्बु, । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताए । उनले यस सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, ‘यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ । सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’
प्रधानमन्त्री ओलीले सोलुखुम्बु सहासिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै, ‘राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभुमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग पुर्याउनेछ, ’ भने ।
प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको आश्वासन दिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उनको भनाइ छ ।
सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।