भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले माघ १ देखि ५ गतेसम्म सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ । मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ लाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस मेलाले स्थानीय कृषि उत्पादन, सांस्कृतिक परम्परा, र पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखेको छ।

मेलाको उद्घाटन माघ १ गते प्रमुख अतिथि संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको उपस्थितिमा हुनेछ। उद्घाटन समारोहमा नाक्छोङहरूको मुन्दुमी प्रदर्शनी र जारोह व्याण्डको सांगीतिक प्रस्तुति विशेष आकर्षणको रूपमा प्रस्तुत गरिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनु भयो ।

यस्तै मेलाको अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरूलाई समेत पर्यटन बर्ष र मुन्दुम पदमार्गका विषय समेटिएको अवधारणा पत्र बुझाइने कार्यक्रम रहेको छ ।

मेलामा विभिन्न दिन विशेष कार्यक्रम आयोजना गरिनेछन्। माघ २ गते कवि मिल्सन राईको कविता वाचन, जारोह व्याण्डको प्रस्तुति, र स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा प्रतियोगिता गरिनेछ। प्रतियोगितामा किबि ,सुन्तला ,एभोकाडो  रायो साग, मुला, तरुल, र स्कूसजस्ता उत्पादनहरू समावेश हुनेछन्।

माघ ३ गते खुल्ला साकेला शिली प्रतियोगिता हुनेछ, जसमा न्यूनतम १० जनाको समूहले भाग लिनेछन्। यस दिन गायक ज्वाला राईको विशेष सांगीतिक प्रस्तुति हुनेछ।

माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता हुनेछ। यसै दिन चर्चित हास्य कलाकार मनोज गजुरेल र गायक भिषण मुकारुङले प्रस्तुति दिनेछन्। साथै, गायक शिव परिवारले सांगीतिक प्रस्तुति दिनेछन्।

मेलाको अन्तिम दिन, माघ ५ गते, स्थानीय कला, साहित्य, र सांस्कृतिक प्रस्तुति हुनेछ। मेलाका विभिन्न प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। स्थानीय उत्पादनबाट बनेका परिकारहरूको स्वाद लिन पनि पाइनेछ।

मेलाको समन्वय मैयुङ-टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गर्नेछ भने व्यवस्थापन चसेवा बजार तथा शहरीकरण व्यवस्थापन समिति, चखेवाले सम्हाल्नेछ ।

यो मेला भोजपुरका प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान, र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष रमा देवि राईका अनुसार यो मेला स्थानीय कृषि उत्पादन प्रवर्द्धन गर्ने र मुन्धुम ट्रेललाई विश्वभर चिनाउने महत्त्वपूर्ण अवसर हुनेछ। एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।

भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई विश्वभरि चिनाउन  प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक सम्पदा र पैदलयात्राका लागि उपयुक्त पदमार्ग भएकोले यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ लाई "मुन्धुम ट्रेल भ्रमण वर्ष" घोषणा गरिएको छ। मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।