सन्जिप तिम्सिना 

भोजपुर  / भोजपुरको चखेवा डाँडामा माघ १ देखि ५ गतेसम्म "सांस्कृतिक तथा पर्यटन कृषि मेला" आयोजना हुने भएको छ। टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा हुने यो मेलाले मुन्धुम पदमार्गलाई विश्वस्तरमा परिचित गराउँदै, पर्यटन प्रवर्द्धन, स्थानीय कृषि उत्पादनको उपयोग, र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्नेछन् ।

मुन्धुम पदमार्ग नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जिल्लाको सिमानामा फैलिएको यो पदमार्ग प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, र सांस्कृतिक विविधताको संगम हो। यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका ८,००० मिटर अग्ला हिमालहरूको अवलोकन गर्न सकिन्छ। किरात सभ्यता र धार्मिक विश्वासमा आधारित यो मार्गले धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्व बोकेको छ।

यो पदमार्गलाई विश्वव्यापी रूपमा प्रचार गर्न सन् २०२५ लाई "मुन्धुम ट्रेल भ्रमण वर्ष" घोषणा गरिएको छ। टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार, “मुन्धुम पदमार्ग सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये एक हो। यसलाई प्रचारप्रसार गरी स्थानीय स्तरमा कृषि उत्पादन र पर्यटन विकासका माध्यमबाट आर्थिक समृद्धि ल्याउने उद्देश्यले यो मेला आयोजना गरिएको हो।”

गाउँपालिकाका उपाध्यक्ष रमा देवी राईले चखेवा क्षेत्रमा निर्माणाधीन पर्यटन सूचना केन्द्र अन्तिम चरणमा पुगेको जानकारी दिँदै भनिन्, “यो सूचना केन्द्रले पदयात्रीहरूलाई मार्गनिर्देशन, जानकारी, र सेवा-सुविधा प्रदान गर्नेछ, जसले पर्यटकहरूको अनुभवलाई अझ सहज बनाउनेछ।”

मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनीसँगै राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति हुनेछ। वडाध्यक्ष पूर्णबहादुर राईले, “कृषि प्रदर्शनीले स्थानीय किसानलाई प्रोत्साहन गर्ने र उनीहरूको उत्पादनलाई बजार उपलब्ध गराउने अवसर प्रदान गर्नेछ,” भन्नुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलका अनुसार, “मेलामा स्थानीय हस्तकला, सूचना बोर्ड, खानेपानी र शौचालय निर्माणलाई प्राथमिकता दिइनेछ। पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन दिगो संरचनाको विकास गरिँदैछ।”1731119373293

मुन्धुम पदमार्गको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारले स्वीस सरकारको सहकार्यमा रु. १ करोड ९० लाख ५० हजार लगानी गरेका छन्। यस क्षेत्रमा आवश्यक संरचनाहरूको विकाससँगै, दिगो पर्यटन प्रवर्द्धनका लागि साझेदार संस्थाहरूको सहकार्यमा अवधारणापत्रसमेत सार्वजनिक गरिनेछ।

मुन्धुम पदमार्ग प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, र पर्यटकहरूको अनुभवका लागि एक उत्कृष्ट गन्तव्य हो। टेम्केमैयुङ गाउँपालिकाको माघे मेला यस क्षेत्रलाई विश्वमै चिनाउन कोशेढुंगा हुने विश्वास गरिएको छ। यो मेलाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा सशक्त रूपमा स्थापित गर्नेछ।IMG-20241024-WA0027

1731859293220