भोजपुर / भ्रमण वर्ष २०२५ का लागि मुन्दुम ट्रेललाई एक आकर्षक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्यसहित आज ट्याम्के मैयुङ गाउँपालिका स्थित कम्फर्ट होलिडेमा तयारी बैठक सम्पन्न भएको छ।
बैठकमा मुन्दुम ट्रेलसँग सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथिका रूपमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो।
बैठकमा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन विभिन्न महोत्सव र कार्यक्रम आयोजना गर्ने योजना प्रस्तुत गरियो। प्रस्तावित प्रमुख कार्यक्रमहरूमा लालीगुराँस महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन, सांस्कृतिक साहित्यिक महोत्सव, हनी हन्टिङ, माउन्टेन साइक्लिङ, र रुद्राक्ष महोत्सव रहेका छन्।
यस भ्रमण वर्षको विशेष पहल "ग्रेटर मुन्दुम ट्रेल" को अवधारणालाई अगाडि सार्दै खुवालुङदेखि चोमलुङ्गासम्म विविध गतिविधि र कार्यक्रम आयोजना गरेर लाखौं पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस परियोजनाले मुन्दुम ट्रेललाई विश्वव्यापी पर्यटन नक्शामा स्थापित गर्ने उद्देश्य राखेको छ ।
मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेश कुमार राईले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताए ।
कार्यक्रमको मुख्य प्रायोजक ट्याम्के मैयुङ गाउँपालिका रहेको छ। यस ऐतिहासिक पहललाई सफल बनाउन गाउँपालिकाले गरेको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रमले मुन्धुम पदमार्गको पर्यटन प्रवर्द्धनको ठुलो टेवा पुग्ने साथै पदयात्राले विश्व भरि चिनाउन चिाइ पर्यटनको कमि कमजोरी पत्ता लगाई सच्चाउन महत्त्वपूर्ण सहयोग गर्ने गाउँपादिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १५४ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । यो पहलले स्थानीय अर्थतन्त्र, संस्कृति, र पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्याउने विश्वास लिइएको छ।