म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा-उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

म्यामारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ वर्षीय शिखर धर्मगुरु फा-उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एव्म प्राचीन कपिलवस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

कार्तिक १८ गते लुम्बिनी आइपुगेका धर्मगुरुले मायादेवी मन्दिरको दर्शनसँगै ध्यान र पूजासमेत गरेका थिए । यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र धर्मगुरुले सालबृक्ष वृक्षरोपण गरेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचीन कपिलवस्तुस्थित बुद्धले ज्ञानप्राप्तपछि प्रथमपटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिए ।

यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरुलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी वाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।

धर्मगुरुलाई लुम्बिनी र कपिलवस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गरेका थिए ।