भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतसहित जनप्रतिनिधि, पर्यटन व्यवसायी र पर्यटन पत्रकारहरुको टीमले कार्तिकको पहिलो साता मुन्दुम पदयात्रा गरिसकेको छ ।
गाउँपालिकाको केही भागमा मुन्दुम पदमार्ग पर्दछ । गाउँपालिकाले यो पदमार्गसँग जोडेर पर्यटन प्रबद्र्धनका कामहरु गरिरहेको छ । पर्यटनलाई प्राथमिकतामा राखेका गाउँपालिका अध्यक्ष बस्नेतले पदमार्गलाई पालिकासँग जोडेर भरपुर सदुपयोग गर्दै आर्थिक उपार्जन गर्ने योजनामा छन् । त्यसकै लागि अध्यक्ष बस्नेतले गएको कार्तिक ४ गते बाट ९ गतेसम्म एउटा फार्म ट्रिपसहित मुन्दुम पदमार्गमा पदयात्राको आयोजना गरिएको थियोे ।
योसँगै गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि अरु थुप्रै कामहरु गरिरहेको छ । मुन्दुम पदमार्गको विकाससँगै पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले पर्यटन वर्ष पनि मनाउने योजना बनाएको छ । गाउँपालिकाले पदमार्ग पहिचान हुँदादेखि नै सक्रिय रुपमा काम गरिरहेको हो । सिलिचुङबाट देखिने यो दृष्यले जो कोहीको पनि मन लोभिन सक्छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १५४ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।
पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । यीनै चार जिल्लाको सिमाना जोडिने डाँडैडाडा पदयात्रा गर्दा पर्यटकहरु आनन्दित हुन्छन् । यो पदमार्ग भर्जिन पर्यटकीय गन्तब्यको रुपमा तिब्र रुपमा विकास भईरहेको छ ।
चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आगामी २०८१ बैशाख १ गतेदेखि बैशाख ३ गतेसम्म महोत्सव समेत गरेको थियो ।
प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको पदमार्गमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । तर, यो पदमार्गमा खानेपानी, सार्वजनिक सौचालय निर्माणको काम गर्न आवस्यक देखिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । अरु पालिका, प्रदेश र संघ सरकारसँग समन्वय गरि पदमार्गलाई थप व्यवस्थित बनाउन पहल गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।
मुन्दुम पदमार्गमा रु एक ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको रु एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागेको हो ।
स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने भएको हो । यसका लागि गाउँपालिकाको रु ४५ लाख, प्रदेश सरकारको रु ५२ लाख १५ हजार, सङ्घीय सरकारको रु १० लाख ५० हजार र स्वीस सरकारको रु ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए।
बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उनले बताए ।“मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताए । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिए ।
यो पद मार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उनले बताए ।
मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्से सार, पिक ३८, चाम्लिङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसे मैदान, स्थानीय गोठालाले पालेका चौँरी, भेडीचोक लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।




















