ताप्लेजुङ। पूर्वको पर्यटन नीति बोक्ने एक सुन्दर हिमाली जिल्ला ताप्लेजुङमा व्यवसायिक रुपमा सन्चालन हुने विश्व स्तरिय ट्रेकिङ रुट तीन वटा हुन्। एक, कन्चङजङ्गा आधार शिविर । दुई, कुम्भकर्ण आधार शिविर । तीन, ताप्लेजुङ खण्डको ग्रेट हिमालयन ट्रेल । यि तीन बाहेक पनि अहिले स्थानिय क्षेत्रका अरु ताजा र ऐतिहासिक रुट खोजेर क्याम्पिङ ट्रेक सुरु भएको छ ।
ओडार, गोठ र टेन्टमा बसेर हुने यो ट्रेकमा एक आकर्षक ट्रेक रुट हो ताप्लेजुङको फुङफुङे झरना, पालुङ , लोदेन र ओलाङ्चुङगोला सम्मको एक हप्ते ट्रेक ।
व्यवसायिक रुपमा सन्चालन नभएकोले बाटो राम्रो छैन। पुल पुलेसा र फड्के स्तरिय छैनन्। कतै रुख तेस्याएर राखिएको छ । कतै ढुङ्गा र बास अनि काठ मिलाएर पुलेसा र फड्के राखिएको छ ।
लिम्बु भाषामा फङफङदेन भनिने हरेक महिना सलल पानी खस्ने तथा नेपाल भ्रमण वर्ष २०२० को सय गन्तव्यमा एक फुङफुङे झरनाबाट सुरु हुँदै पालुङ, लोदेन क्षेत्र भएर पूर्वी हिमाली ऐतिहासिक नाका बजार ओलाङचुङगोला क्षेत्रको यो ट्रेक याक्थुङ लिम्बुहरुको मुन्धुमी धाम भएको यसका अभियानकर्मी तथा लेखक अर्जुनबाबु माबोहाङ बताउँछन्।
तेह्रथुमको लालिगुराँस नगरपालिका नगरपालिकाका मेयरसमेत रहेका उनले यो मार्गको ४८२० मिटर उचाईको लोदेन र ओलाङचुङगोलाको सीमा क्षेत्रको चुलीमा नगरकार्यपालिकाको बैठक बसाएर मुन्धुमी मार्ग विकास, विस्तार र ब्राण्ड गर्न उनले तीनै तहका सरकारलाई औपचारिक आग्रह गरिसकेका छन्।