इलाम  : भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको पाँच वर्षपछि बन्द भएको छ । सङ्घीय सरकार मन्त्रिपरिषद्को निर्णयसँगै अध्यागमन कार्यालय खारेज भएको हो ।

कात्तिक ८ मा बसेको बैठकले अध्यागमन कार्यालय र यहाँको सीमा प्रशासन कार्यालयसमेत खारेज गर्ने निर्णय गरेको थियो । दुवै कार्यालयलाई एकीकृत (मर्ज) बनाएर सञ्चालन गर्ने गरी यी कार्यालय खारेज गरिएका हुन् ।

अब नागरिकता वितरणसहित सीमा प्रशासनले गर्दै आएको काम र अध्यागमन कार्यालयले गर्नुपर्ने काम मर्ज भएर हुने जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयमा लेखिएको छ– ‘सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने । साथै, अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।’

पशुपतिनगरका बासिन्दाको वर्षौँको दबाब र प्रतीक्षापछि सरकारले २०७६ वैशाख १५ मा पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आऊ–जाऊ सहज गर्न अध्यागमन कार्यालय खोलेको थियो ।

पशुपतिनगरमा अध्यागमन खुलाउन स्थानीय उद्योग वाणिज्य सङ्घ, सरकारी तथा गैरसरकारी सङ्घ–संस्था, स्थानीय अगुवा र पर्यटनसँग सरोकारवालाले वर्षौँदेखि प्रयास गरेका थिए । सूर्योदय नगरपालिकासमेतको अगुवाइमा पटक–पटक सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदा मात्र यहाँ अध्यागमन खुलेको थियो ।

पूर्वमा भारतसँग जोडिएका पाँचथर र ताप्लेजुङमा पशुपतिनगरजस्तो सहज भौगोलिक अवस्था छैन । त्यसैले पनि पशुपतिनगरको अध्यागमन पूर्वी पहाडकै निकै महत्त्वपूर्ण मानिएको छ ।