विराटनगर / कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ। विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ घोषणा गरेका हुन्। यस घोषणासँगै प्रदेशले आफ्ना पर्यटकीय स्थलहरूको विकास, प्रवर्द्धन र विस्तार गर्ने औपचारिक थालनी गरेको छ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावनायुक्त क्षेत्रको रूपमा व्याख्या गर्दै यसले नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए। उनले कोशी प्रदेशलाई भौगोलिक, सांस्कृतिक, सामाजिक तथा जैविक विविधताले भरिपूर्ण क्षेत्रका रूपमा चित्रण गरे। उनका अनुसार, यो प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथासहित मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालजस्ता १० अग्ला हिमालहरूमध्ये ५ हिमाल अवस्थित छन्, जसले साहसिक पर्यटकहरूको ध्यान आकर्षित गर्नेछ।

मुख्यमन्त्रीले कोशी प्रदेशका विविध पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्दै यस प्रदेशले धार्मिक र सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। पाथिभरा, वराहक्षेत्र, हलेसी महादेव, खुवालुङ, माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ लगायतका ऐतिहासिक तथा धार्मिक स्थलहरूले पर्यटकहरूलाई आकर्षित गर्ने र प्रदेशको धार्मिक एवं सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने अवसर प्रदान गर्ने उनले उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न कोशी प्रदेश सरकारले प्रभावकारी नीति र योजना अघि बढाइसकेको जानकारी दिए। नेपालमा सन् १९९८ मा आयोजित ‘भिजिट नेपाल’ अभियानले पाएको सफलताको उदाहरण दिँदै, उनले त्यसको सिकाइलाई आधार मानी कोशी प्रदेशमा पनि पर्यटकीय गतिविधिहरूलाई व्यापक बनाउने योजना रहेको बताए।

उनका अनुसार, प्रदेशको स्रोत र साधनले भ्याएसम्म पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकार प्रतिबद्ध छ। यसका लागि आवश्यक नीति र कानूनमा भएका समस्याहरूलाई समयानुकूल सुधार गर्न संघीय सरकार र स्थानीय तहसँग समन्वय गर्दै अघि बढ्ने योजना रहेको छ।

कोशी प्रदेशले पर्यटन वर्ष–२०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको छ। प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष सफल पार्न यी गन्तव्यहरूको विकास, संरचना निर्माण र प्रचारमा विशेष ध्यान दिने बताए। उनका अनुसार, सरकारले पर्यटन वर्षको लागि १० करोड रुपैयाँको विशेष बजेट छुट्याएको छ भने समग्र पर्यटन पूर्वाधार विकासका लागि  १ अर्ब ७ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको  छ।

मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्यलाई अनिवार्य ठहर गर्दै, निजी क्षेत्रसँगको सहकार्यमा काम अघि बढाइने बताए। उनले पर्यटनको प्रवर्द्धनमा नीति तथा कानूनहरूको सुधार र प्रदेशका भौतिक पूर्वाधारहरूको स्तरोन्नतिमा प्रदेश सरकार गम्भीर रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले पनि कार्यक्रममा बोल्दै पर्यटन र कृषिको समन्वयमा मात्रै प्रदेशको समृद्धि सम्भव रहेको धारणा व्यक्त गरे। निजी क्षेत्रले भोगिरहेका समस्याहरूको समाधानमा प्रदेश सरकारले पहल गरिदिनुपर्नेमा जोड दिँदै उनले पर्यटन वर्ष सफल बनाउन निजी क्षेत्रको तर्फबाट पूर्ण सहकार्यको प्रतिबद्धता व्यक्त गरे।

पर्यटन वर्षलाई लक्षित गर्दै, भारतीय पर्यटकहरूको सुविधाका लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ। भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटकहरूको सवारी साधनमा स्टिकर टाँस्नुपर्ने व्यवस्था गरिएको छ, जसले गर्दा पर्यटकहरूलाई यात्रा गर्दा सडकमा थप चेकजाँचको झन्झट व्यहोर्नु नपरोस्। यस उद्देश्यका लागि तयार गरिएको स्टिकरलाई शुक्रबार आयोजित कार्यक्रममै कोशी प्रदेश प्रमुख डिआईजी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गरिएको थियो।

कोशी प्रदेशको ‘पर्यटन वर्ष–२०८२’ घोषणा केवल पर्यटन प्रवर्द्धनका लागि मात्रै नभएर समग्र प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको दृष्टिकोणबाट महत्त्वपूर्ण पहल हो। प्राकृतिक सम्पदा, धार्मिक स्थलहरू, सांस्कृतिक विविधता र साहसिक गतिविधिहरूको समुचित विकास गर्दै कोशी प्रदेशले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ। सरकारी र निजी क्षेत्रको सहकार्यमा यो अभियानलाई सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको मञ्चमा अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।