इलाम / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ।  इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशकमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उहाँले बताउनुभयो । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उहाँले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै यस लाइ सफल पार्न समेर आग्रह गर्नुभयो ।

पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुवात गरिएको बताउदै उहाँले सूर्याेदयमा पनि पोष्ट स्थापना गर्ने जानकारी दिनुभयो । पर्यटन प्रहरी र भ्रमण वर्षले कोशी प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सहज हुने उल्लेख गर्दै उहाँले प्रदेशले धार्मिक पर्यटनमा ध्यान दिने बताउनुभयो ।

उहाँले भारत र चिनबाट हिन्दू र बौद्धिष्ट धर्मावलम्बीहरुलाई नेपाल भ्रमणमा ल्याउन सकिने भन्दै यसले हाम्रो पर्यटन व्यवसाय विकास गर्दै मुलुककै कायापलट गर्न सकिने बताउनुभयो । उहाँले नेपाली कृषि उत्पादनलाई भारत निर्यातका लागि सहजिकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताले विकास निर्माणमा समस्या भएको उल्लेख्य गर्नु भयो । उहाँले प्रदेशमा भइरहेको सरकारको फेरबदल र राजनीतिक अस्थिरताले जनतामा नैराश्यता आएको भएपनि यसलाई चिरेर अब अघि बढ्ने सरकारको योजना रहेको बताउनुयभो । आफू नेतृत्वमा रहँदा उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको दृष्टान्त दिँदै उहाँले बजेट खर्चको आधारमा कोशी प्रदेश पहिलो रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले शासकीय सुधार गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सूर्याेदय नगरपालिकाले नेपालकै सबै पालिकाहरु मध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै उहाँले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । प्रदेश सरकार नगरको साथमा सधैं रहने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय तहको पूँजीगत खर्च बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम सफल बनाउन प्रदेश सरकार, संघीय सरकार र नीजि क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य समशेर राईले इलाममा भेटेरिनरी अस्पताल खोल्नु भएको भन्दै मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले इलाममा पर्यटन र कृषिको विकासको लागि आवश्यक पर्ने अड्डा स्थापना गर्न माग गर्नुभयो । प्रदेश सभा सदस्य खिनु लुङ्वा, संविधान सभा सदस्य लीला श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । नगरपालिकाका मेयर रणबहादुर राईले सुशासन कायम गर्दै विकास निर्माणमा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले सुशासनको मामलामा नगरपालिका प्रदेशमै नमूना रहेको बताउनुभयो ।