धनकुटा / धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको 'स्काइवाक टावर' उद्घाटन गरिएको छ । आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगरका मेयर हर्क साङ्‌पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्घाटन गरेका हुन् ।

यो संरचनाको निर्माण चार वर्षअघि थालिएको थियो । करिब २० करोड लगानीमा स्काइवाक निर्माण गरिएको जनाइएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काइवाक निर्माण गरेको हो ।

५० मिटर लम्बाइको स्काइवाक टावर 'क्यान्टिलिभर टावर' को मोडलमा निर्माण भएको जनाइएको छ । एक पटकमा दुई सयजना हिँड्न सकिने स्काइवाक टावरको उचाइ १ सय मिटर र चौडाइ ४ मिटर छ ।

भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काइवाक निर्माण गरिएको हो । भेडेटारमा पूर्वी तराईसहित विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गर्छन् । भारतबाट पनि पर्यटकहरू आउने गरेका छन् । खासगरी गर्मी मौसममा आगन्तुकहरुको भीड लाग्ने गरेको छ ।

चिसो मौसम हुने भएकाले यहाँ आउने पर्यटकहरुको संख्या उल्लेख्य हुने गरेको छ । स्काइवाक टावरको निर्माणपछि आगन्तुकहरुको सङ्ख्या अझ बढ्ने अपेक्षा यहाँका पर्यटन व्यववसायीहरूले गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण गरिएको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ ।

भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।