काठमाडौं | सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । सोमबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिए। 

उनले सात वर्षदेखि ट्रेलको प्रवर्द्धन र प्रचारप्रसार गर्दै आएकामा सन् २०२५ मा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन थालिएको बताए। त्यसका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टीपौवालगायत सङ्ख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको उनले जानकारी दिए। 

“पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ । सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ । यसो गरेमा तोकिएको सङ्ख्यामा पर्यटक पुर्‍याएर स्थानीयले अझबढी आर्थिक लाभ लिनसक्ने हाम्रो विश्वास छ”, अध्यक्ष राईले भने। 

भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने आयोजकको योजना छ। मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्रहरू पर्दछन्। यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ।

पूर्वपर्यटनमन्त्री सुदन किराँतीले मुन्दुम ट्रेल सांस्कृतिक मार्ग भएकाले यो अरु मार्गभन्दा भिन्न रहेकाले त्यसको ‘ब्राण्डिङ’ गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “मुन्दुम ट्रेल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ। यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ। यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नसके धेरै राम्रो हुन्छ किनकि कसैलाई लालीगुँरास हेर्न मनपर्ला कसैलाई कुहिरो। रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक सङ्ग्रहालयको अवधारणाअनुसार अगाडि बढौँ।”

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म यो ट्रेलको प्रवर्द्धन हुन नसक्ने बताए। “यस्ता खालका पर्यटकीय ट्रेललाई स्थानीय तहले नै प्रवर्द्धन गर्ने हो। कति धेरै ट्रेलहरु हराएर गएका छन्। त्यसलाई हामी बचाउन खोजिरहेका छौं। गाडीको बाटो चाहिन्छ तर ट्रेल बनाइरहँदा वैकल्पिक बाटो पनि खोज्नुपर्छ”, उनले भने। 

कार्यक्रममा पाँच जनालाई मुन्दुम ट्रेल पर्यटन दूत पनि घोषणा गरिएका छन्। गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउण्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको हो।

मुन्धुमलाई प्रचारप्रसार गर्न गत बैशाख १ गतेदेखि ३ गतेसम्म चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव गरेको थियोे  ।

महोत्सवमा स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति भएको थियोे ।

पुर्व पर्यटन मन्त्री सुधन किरातीले टेम्केमैयुङ पर्यटकको हब क्षेत्र भएकाले पुर्यटन क्षेत्रमा सहयोग गर्दै जाने बताए । आफू मन्त्री हुँदा टेम्केमैयुङलाई पर्यटन क्षेत्रमा सहयोगमा गरेको उनको भनाइ थियोे ।

गाउँपालिकाको कृषि, पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा प्रचारप्रसारका लागी महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए  । महोत्सव प्रत्येक वर्ष आयोजना गर्दै जान अगाडि बढेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिकाको आयोजना सन् २०२५ लाई मुन्दुम पर्यटकीय बर्षकारुपमा मनाउन लागेको छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने गाउँपालिकाका उपाध्यक्ष रमादेवि राईले बताइन्  । महोत्सवले स्थानीय जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी गरि पर्यटन विकासका लागि  टेवा पुगेको आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले बताए ।

चखेवा डाँडा , टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर , हाँस प‍ोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थल प्रचुर मात्रा रहेको छ । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ। 

पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ । चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ । 

पदमार्ग भन्ने साथ पैदलयात्रा गरेर जाने ठाउँ हो । टेम्केको केही वर रहेको खोटाङको सिमाना छुट्टिने चखेवा डाँडा बाट पदयात्रा गरेर मुन्धुम पदमार्ग पुग्न सकिन्छ । बर्खामास तथा फागुन चैतको समयमा यहाँ हरियाली हुने , गुराँस फुल्ने गर्दछ भने मनोरम दृश्य देख्न सकिन्छ । 

पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । शितल हावापानी खान तराईका व्यक्ति वा पर्यटन  तथा अन्तरिक तथा बाह्य पर्यटक पनि मुन्धुम पदमारर्ग आउने गरेका छन् ।

किराती सभ्यता, संस्कृति र जीवनदर्शनको समग्र रूप मुन्धुम हो । किराती राई बहुल क्षेत्रमा पर्ने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो। समुद्री सतहबाट २ हजार ३०० मिटरमा रहेको चखेवादेखि ४ हजार ११० मिटरको सिलिचुङ डाँडा प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैली, मिथक, आस्था र किराती संस्कृतिको संगम हो।