चतरा आउने पर्यटक कहाँ जाने ? कहाँ बस्ने? यस्ता छन् पर्यटन प्याकेज

चतराधाम धार्मिक पर्यटनका लागि मात्र होइन, जैविक विविधता, प्राकृतिक पर्यावरण, साहासिक पर्यटन, वाइल्डलाइफ र जल पर्यटनका प्रसस्त सम्भावना बोकेको क्षेत्र हो ।

चतराधाम र आसपासको पर्यटन विविधतायुक्त छ । जङ्गल सफारी, जेटबोट सफारी, एटिभी राइडिङ सूर्योदय र सूर्यास्तको अवलोकन, स्थानीय मौलिक खानाको स्वाद, धार्मिक तीर्थाटन यहाँको मुख्य आकर्षण हुन् ।

भर्खरै सकिएको पूर्ण महाकुम्भ मेलामा २५ लाख धार्मिक पर्यटकले तीर्थाटन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । चतरा आसपासमा मुख्य गरी पर्यटकका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना, चरा र अन्य वन्यजन्तुको अवलोकन साथै हात्ती सफारीको सुविधा प्राप्त हुँदै आएको छ ।

चतरास्थित सप्तकोसी नदीमा जेटबोटमा घुमघाम, चतरापारि बेलका नगरपालिकाको चम्पाकोटबाट सूर्योदयको दृश्य र चतरा वारि १३ आरडी हुँदै राजाबास प्रकाशपुरबाट सूर्यास्तको मनोरम दृश्य हेर्न सकिन्छ ।

बेलका बोप्ताङबाट प्याराग्लाइडिङ, चतरामा एटिभी राइडिङ र कोसी नदीमा जेटबोटलगायत सहासिक पर्यटनको स्वाद लिन सकिन्छ । चतराघाटस्थित कोसी नदीमा पुल निर्माण भएपछि त्यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै गइरहेको स्थानीय होटल व्यवसायी बताउँछन्।

गर्मी छल्न चतरा आसपास अहिले उत्कृष्ट गन्तव्य हुन सक्छ । यहाँ आसपासका पहाडी क्षेत्रमा हुने हावापानीको विविधता अविस्मरणीय बन्न सक्छ । बराहक्षेत्र नगरपालिकाका सूर्यकुण्ड, अर्चले चावाचा र बेलका नगरपालिकाका बोप्ताङ, आराङ्गा, आहाल र चम्पाकोट गज्जबका गन्तव्य बन्न सक्छन् ।

यहाँ प्रकृतिसँग रमाउँदै कम्तीमा दुईदेखि तीन दिनसम्म बस्न सकिन्छ । यहाँका होटल र होमस्टेले पर्यटकलाई मौलिक खाना पस्कनेसँगै सुलभ मूल्यमा बसोबासको व्यवस्थापन गर्दै आएका छन् ।

चतरा आसपासमा आएपछि कहाँ घुम्ने ? कहाँ बस्ने ? लगायतका जिज्ञासा हुनसक्छन् । त्यसका लागि पर्यटन व्यवसायीले आआफ्नै प्याकेज निर्माण गरेर पर्यटकलाई सुविधा प्रदान गर्दै आएको पर्यटन व्यवसायी रमण भट्टराई बताउँछन् ।

होटलमा एक दिनदेखि बढीका विभिन्न प्याकेज निर्माण गरिएका छन् । प्याकेजअन्तर्गत कोसी नदीमा जेटबोट सफारी, कोसी टप्पु वन्यजन्तु आरक्षमा जङ्गल सफारी, पदयात्रा, हात्ती सफारी, चरा अवलोकन, प्याराग्लाइडिङ, एटिभी राइडिङ, सूर्योदय र सूर्यास्तको अवलोकनलगायतका गतिविधि समावेश छन् ।

यहाँ हामीले यस क्षेत्रका होटल, रिसोर्ट र होमस्टेबारे जानकारी प्रस्तुत गरेका छौं ।

एक्वा बर्ड (इको) रिसोर्ट, कोसीटप्पु (9846660419)

IMG-20240602-WA0000

यो रिसोर्ट कोसीटप्पु वन्यजन्तु आरक्षभित्र छ । रिसोर्टले आरक्षभित्र आउने पर्यटकलाई विभिन्न भ्रमण प्याकेज र खान बस्नको सुविधा प्रदान गर्दै आएको छ ।

जैविक विविधतामैत्री यो रिसोर्ट आसपासमै चराहरुको अवलोकन गर्न र आरक्षसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ ।

बेलका बीच रिसोर्ट, कोसी पुल सोमबारे (9842871244)

IMG-20240602-WA0017

चतराबाट कोसी पुल तरेपछि सोमबारेमा यो रिसोर्ट अवस्थित छ । रिसोर्टमा होटल, लज, स्वीमिङपुललगायतको सुविधा पर्यटकले प्राप्त गर्न सक्छन् । यो रिसोर्टले मोटरबोट सफारी, जङ्गलसफारी, प्याराग्लाइडिङ, जीप सफारीलगायतको सुविधा प्रदान गर्दै आएको छ ।

द कोसी रिभर बिच रिसोर्ट, कोसी किनार (9819398901)

IMG-20240602-WA0011

हालसालै खोलिएको यो रिसोर्ट कोसी नदीको पश्चिम किनारामा अवस्थित छ । क्याम्पफायर, नाइटस्टे, रेस्टुरेन्टलगायतको सुविधा पर्यटकलाई दिइरहेको यो रिसोर्टले कोसी नदीको पर्यटन र जैविक विविधता हेर्न चाहाने पर्यटकलाई सुविधा प्रदान गर्दै आएको छ । यहाँबाट र्याफ्टिङ लगायतका सहासिक पर्यटनको स्वाद लिन चाहाने पर्यटक लाभान्वित हुनेछन् ।

होटल कोसी प्यालेस, कोठु (9844552535)

IMG-20240603-WA0004

होटल कोसी प्यालेस यहाँको आकर्षक र ठूलो लगानीमा निर्माण भएको होटल हो । सुविधा सम्पन्न लज यहाँको मुख्य आकर्षण हो । होटलले रेस्टुरेन्टसमेत सञ्चालन गर्दै आएको छ ।

बराहक्षेत्र होटल एण्ड लज, बराहक्षेत्र मन्दिर (9842267255)

बराहक्षेत्र मन्दिर एरियामा खाना तथा बस्नको राम्रो प्रबन्ध भएको होटल हो यो । यहाँबाट वराह भगवानको दर्शन गर्न र स्थानीय पर्यटनको आनन्द उठाउन सकिन्छ । बराहक्षेत्रबाट धनकुटा, भोजपुरसम्म जेटबोटबाट यात्रा गर्न सकिन्छ भने कोसी किनारमा जलपर्यटनको आनन्द लिन सकिन्छ ।

चतरा गेस्ट हाउस, चतरा बजार (9842029170)

चतरा गेस्ट हाउस चतराको मुख्य बजारमा अवस्थित छ । यो क्षेत्रको आसपासमाका पर्यटकीय क्षेत्र अवलोकन गर्नका लागि केन्द्रविन्दू हुन सक्छ । सुविधायुक्त आवास र यहाँका मुख्य पर्यटनका क्षेत्रहरुको जानकारी र सुविधा प्राप्त गर्न यहाँका सञ्चालक पर्यटकका लागि सहयोगी हुन सक्छन् ।

सरोवर रेस्ट्रो, झण्डाचोक (9851120712)

WhatsApp Image 2024-06-02 at 20.00.49_74cbd693

यो होटल तथा लज सेवा प्रदान गर्ने रेस्ट्रो मदन भण्डारी राजमार्गमा पर्ने झण्डाचोकमा रहेको छ । इटहरी, धरान, र पश्चिम राजधानीबाट आउने आगन्तुकका लागि यो ठाउँ केन्द्रमा पर्छ ।  होटलले पर्यटनका सबै प्याकेज उपलब्ध गराउँदै आएको छ ।

सूर्यकुन्ड होमस्टे, सूर्यकुण्ड (9861311599)

बराहक्षेत्रको पहाडी क्षेत्रमा पर्ने यो होमस्टे मौलिक खानाका लागि परिचित छ । चतराबाट ५ किलोमिटर उत्तरमा पर्ने यो ठाउँबाट सप्तकोसी नदी र तराईका फाँटहरु अवलोकन गर्न सकिन्छ । यहाँका कुलुङ राई जातिको मौलिक खाना वाचिप्पा (तीते) र स्ट्रबेरीको जुस खानाका आकर्षण हुन् ।

चम्पाकोट होमस्टे, बेलका आहाल (9842061203)

IMG-20240602-WA0012

यो क्षेत्रमा तराईबाट सबैभन्दा नजिकको पहाडी हावापानी अवलोकन गर्न सकिने चम्पाकोट विविधतायुक्त मौसमले परिचित छ । सूर्योदयको अवलोकन, गिद्धहरुको बासस्थानको अवलोकन र होमस्टेमा मौलिक खानाको परिकार यहाँको मुख्य आकर्षण हो । कोठुबाट सात किलोमिटर र सोमबारेबाट १० किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा छिनछिनमै मौसम परिवर्तन हुँदा पर्यटकले रमाइलो अनुभूति गर्ने गर्छन् । मौसम अनुसारका पहाडी फलफूल पाइने हुँदा पर्यटकका लागि यो क्षेत्र रोजाइमा पर्न सक्छ । 

शब्द/ तस्बिर: नवराज विष्ट