तेह्रथुम / तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० वटा स्टल राखिने आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र रु एक करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समिति उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजीव ढुङ्गानाले बताए ।
सांस्कृतिक झाँकीसहित म्याङलुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उद्घाटन गरे। प्रमुख तुम्बाहाम्फेले मुलुकको आर्थिक विकास, स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने चर्चा गरे।
ढाका र गुराँसको राजधानीका रुपमा तेह्रथुम परिचित छ । महोत्सवले ढाका र गुराँसकै प्रचारप्रसार हुने महोत्सव आयोजक संस्था पोखरी एकीकृत समाजका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विश्वास व्यक्त गरे ।
अठ्ठाइस प्रजातिका गुराँस टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकनकर्ता आउने आङ्कलन आयोजकको छ ।