भोजपुर / मुन्दुम ट्रेलका अभियान्ता रमेश कुमार राईको पुस्तक ‘नेपालमा पर्यटनको सम्भावना र अवसरहरु’ साल्पा सिलिचुङको शिखरबाट सार्वजनिक गरिएको छ ।

पुस्तकका लेखक राईसहित सो क्षेत्रको जैविक विविधताबारे अनुसन्धान गर्न खटिएकाे डा. अच्युत तिवारी नेतृत्वको टोलीले शनिबार ४ हजार १ सय ६५ मिटर उचाइ रहेको सिलिचुङ चुचुरोमा पुगेर पुस्तक सार्वजनिक गरेको हो ।

पुस्तकमा नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे विस्तृत जानकारी दिइएको छ । पुस्तकका लेखक राई मूलतः मुन्दुम ट्रेलका प्रचारक र पर्यटन व्यवसायी हुन् । मुन्दुम ट्रेल भोजपुर, खोटाङ र सोलुखुम्बुको विभिन्न पर्यटकीय स्थलमा पुगेको छ ।

जसमध्ये साल्पा पोखरी र त्यहाँबाट करिब तीन घन्टा हिँडेर पुगिने सिलिचुङ चुचुरो एक महत्वपूर्ण सांस्कृतिक पर्यटकीय स्थल हो । किनकि, साल्पा–सिलिचुङ नेपालका किरात समुदायको संस्कृति र मिथकसँग पनि जोडिन्छ । साल्पा सिलिचुङकाे चुचुरोबाट पुस्तक सार्वजनिक गरिएको सम्भवतः यो नै पहिलो हो ।

पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो गाउँपालिकामा पर्यटन प्रबद्र्धनका लागि मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले सन् २०२५ अर्थात आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण २०२५ को आयोजना गर्ने भएको छ । जसका लागि गाउँपालिकाले आफ्नो पालिकासँग जोडिएका अर्थात मुन्दुम ट्रेलसंग जोडिएको स्थानीय तहसँग समन्वय गर्दै मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने निर्णय गरेको हो ।

जसमा खोटाङको साकेला, रुपाकोट र केपीलासढी गाउँपालिका, भोजपुरकै सालपासिलिछो, भोजपुर नगरपालिका, सडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले १ लाख पर्यटक भित्राउने योजना बनाएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।