सन्जिप तिम्सिना
भोजपुर / भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण थालिएको छ ।
केन्द्रिय सरकार अन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन गरि पोखरीलाई गर्न थालिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ ।
पोखरीको बिचमा रहेको खम्बामा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।
बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय एगिन्द्र दंगालले बताउनुभयो । यो पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको छ । पोखरी हराबरा बनाउने काम स्थानीय सरकाले गर्दै आएको छ ।
पोखरीलाई संरक्षण गर्न गाउँपालिका र वडा समन्वय गरेर संरक्षण गर्न अगाडि बढेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । पोखरीमा पाँच वटा डुङ्गे धारा बनाउने भएको उहाँको भनाइ छ । पोखरीको अगाडि मानिसलाई बस्नका लागि प्रतिक्षालय समेत बनाउने भएको उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।’ पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ ।
विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ-५, खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए ।
पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् । यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।’
सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेल पौडेलले जानकारी दिए । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।