सोलुखुम्बु / सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार, हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएका हुन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार, यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका निम्ति ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन् ।

हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्र ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ संकलन भएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका निम्ति चौथो शिविर (साउथ कोल, ७,९५० मिटर) सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो ।

यसअघि, सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।