भोजपुर / मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो ।

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी रहने उहाँको भनाइ छ । 

महोत्सव अवधिभर मुन्दुम पदमार्गको बृतचित्र प्रर्दशनी, साँस्कृतिक झाँकी प्रदर्शन,बाघखोरबाट चखेवासम्म मुन्दुम दौड, कविता बाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरुको प्रस्तृति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्टलहरुको प्रदर्शनी भने २५ गतेसम्म रहने पर्यटन क्षेत्रका विज्ञ विवेक कुलुङले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवको लागि टेम्केमैयुङ गाउँपालिकाले रु। दश लाख बजेट विनियोजन गरेको छ ।

महोत्सवमा कविहरु ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, बसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तावा, अम्मर बान्तु, कतिवा राईलगायतको प्रस्तुति रहने आयोजकको भनाइ छ । त्यस्तै कलाकारहरुमा दयाहाङ राई, भिषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बविता किराँती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने जनाइएको छ ।

पदमार्गको आसपासमा निर्माण भएका किराँतहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।

टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ ।