धरान । धरानको घण्टाघर के हो ? यो प्रश्नको उत्तरमा घण्टाघर के हैन ? भन्न सकिन्छ । जस्तै धरान चिनाउने सेक्युलर अर्थात् धर्मनिरपेक्ष विम्ब हो घण्टाघर । यसको निर्माण अगाडि बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर आदि मन्दिरका विम्बले धरान चिनिन्थ्यो । जब घण्टाघर बन्यो तब बन्यो धरानको सेक्युलर विम्ब । आजकल पर्यटन बोर्डका प्रचार सामग्रीदेखि मिडियाका धराने समाचारसम्म घण्टाघर राखिएको पाइन्छ ।
घण्टाघर धरानको पहिलो अनुहार हो । धरान वडा नम्बर २ को भानुचाेकमै उभिएको ७६.५ फिट अग्लो घण्टाघर आउनु धरान आउनु हो । चारकोशे झाडी छिचोलेर आएकाहरुलाई पहाड सुरु हुने विम्ब हो घण्टाघर । भेडेटारको पहाड नाघेर आएकाहरुलाई पहाड सकिएर तराई सुरु भएको विम्ब हो घण्टाघर ।
धरानमा ओर्लिएर प्रेमी/प्रेमिका भेट्न आतुर तर क्याफे र होटल पस्न नसक्ने खल्तीपीडित प्रेमीहरुको मन भेट्टाउने संगम हो घण्टाघर ।
पत्रपत्रिका पारखीको दैनिक पत्रपत्रिका पढ्ने भेन्युदेखि माग्ने सडकजीविको कमाइ गर्ने अड्डासम्म हो घण्टाघर । धरानका भूपू गोर्खा सैनिकहरुको धराने विमर्श गर्ने एक प्रिय क्षेत्र त हुँदै हो घण्टाघर । धरानको होचो क्षेत्रबाट अग्लो भएर धरान चिहाउने आँखीझ्याल हो घण्टाघर ।
कहिले समयको पदचाप पच्छ्याउने अनि कहिले छोड्दै हिँड्ने धराने समयको एक सूचक हो घण्टाघर ।
घण्टाघर त धरान हेर्न आउने पर्यटकहरुको एक विसौनी र धरानको आधुनिकताको मानकमात्रै हैन । घण्टाघर जुत्ता सिलाएर दैनिक गुजारा गर्ने श्रमजीवीहरुको टुसुक्क अभिने कुना पनि हो ।
घण्टाघर प्रदेश १ को पर्यटकीय क्षेत्र प्रवर्द्धन गर्ने केन्द्र हो । घण्टाघरको भुइँबाट सिरानको ९० खुट्किला उक्लेपिच्छे फरक फरक प्रदेश १ का पर्यटकीय क्षेत्रका तस्वीर छन् । गुफापोखरी, कञ्चनजंगा हुँदै गुराँसको राजधानीलगायत थुप्रै पर्यटकीय क्षेत्रका तस्वीर बोकेर उभिएको पर्यटन गाइड हो घण्टाघर ।
घण्टाघर धराने जनसहभागिताको एक नमुना प्रतीक हो । घण्टाघर परिसर निर्माणको एक करोड बढी रकम जनसहभागिताले जम्मा भएको हो । जसमा धराने र धरानप्रेमीहरुको पसिना र प्रेम मिसिएको छ ।
घण्टाघर धरानको हङकङ साइनोको एक सेतु पनि हो । घण्टाघर बनाउन धरानका हङकङ निवासी मनकारीहरुले ३३ लाख हाराहारी सहयोग गरेका हुन् । घण्टाघरको अनुहार राजेन्द्रप्रकाश बोखिमले ड्रइङ र डिजाइन गरेका हुन् । तर, यो अनुहार हङकङकै घण्टाघरसँग हुबहु मिल्छ । अर्थात् धरानको हङकङ्गेली सिकोको एक उदाहरणसमेत हो घण्टाघर ।
धरानको धेरै कुरा हो घण्टाघर । धरानमा धेरै कुरा हो घण्टाघर । यही घण्टाघरको कथा हो यो सामग्री-
भाते टहरादेखि सुन्दर घण्टाघरको चित्रसम्म
धरानको पर्यटकीय ल्याण्डमार्क घण्टाघरको शिलान्यास २०५७ पुस २१ गते भयो । तत्कालीन सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा वरिष्ठ कवि कुन्ता शर्माले शिलान्यास गरेकी थिइन् । मेयर मनोज मेन्याङ्बोको अगुवाइमा निर्माण सुरु भएको घण्टाघरको उद्घाटन २०६२ पुस २० गते भएको थियो । उद्घाटन गरेका थिए भिक्टोरिया क्रस विजेता रामबहादुर बेघा (लिम्बू)ले ।
पाँच वर्षभित्र शिलान्यास भएर बनिसकेको घण्टाघर सजिलोसँग बनेको भने हैन । त्यसको प्रत्यक्षदर्शी हुन् धरानको जल्पारोडमा २००६ मा जन्मेका हरेराम कर्माचार्य । घण्टाघर शिलान्यास हुँदा आधा शताब्दी बाँचिसकेका कर्माचार्य घण्टाघर बन्नु अगाडिको घण्टाघर क्षेत्र हेरिनसक्नुको भएको सुनाउँछन् । ‘धरानको प्रथम हिजो र आज’ र ‘धरानका सौरभ’ जस्ता अनुसन्धानमूलक पुस्तकहरु लेखिसकेका कर्माचार्य भन्छन्, ‘पहाडबाट झरेकाहरुदेखि तराईबाट उक्लेकाहरुसम्मले देख्ने पहिलो दृश्य भानुचौकको भाते टहरा थिए ।’
सामान्य खानपिनका पसलहरु लहरै भएकाले भाते टहरा भनिने गरिएको कर्माचार्य सुनाउँछन् । भाते टहरा भनेर चिनिएको भानु चोकमा शुक्रबार र शनिबार औपचारिक हटिया लाग्थ्यो । हटिया जस्तो चहलपहल भने सातै दिन हुने उनी बताउँछन् । ‘मान्छे आउने, जाने र खाने केन्द्र थियो भाते टहरा । तर, धेरै फोहोर थियो । धरान आउने जोकोहीले पनि फोहोरको गुनासो गर्ने गर्थे’, उनले भने ।
घण्टाघर बनाउने नेतृत्व लिएका धरानका तत्कालीन मेयर मनोज मेन्याङ्बोका अनुहार भाते टहरामा ८० हाराहारी टहरा थिए । आधा दर्जन हाराहारी पक्की संरचना थिए । अवैध संरचना र टहराहरुलाई व्यवस्थित गर्न वैकल्पिक ठाउँ दिइएको थियो । धरानको मूल चोकमा जस्तो चहलपहल र व्यापार नहुनाले टहरावाला र घरवालाहरु नयाँ मुकाम जान मान्न तयार भएनन् । स्थानीय सरकारले सूचना निकाल्यो । कसैले टेरेनन् । सूचनाले नटेरेपछि बल प्रयोग भयो । मेयर मेन्याङ्बो आफैं घरटहरा भत्काउने प्राविधिक र सुरक्षा टोलीसँगै सडकमा आए र, एकै दिनमा भत्काएर सके ।
भत्काएको ठ्याक्कै मिति पूर्वमेयर मेन्याङ्बोलाई सम्झना छैन । तर, उनले खेपेका दर्जनौं मुद्दाको सम्झना छ । अदालतले दिएका ‘स्टे अर्डर’हरुको सम्झना छ । नगरपालिकाका कानुनी सल्लाहकार शिव भण्डारीले तारन्तार तारेख धाएको सम्झना छ । कानूनी बन्देज लाएर रोक्न खोजे पनि सही मुद्दा भएकाले धेरैको साथले काम फत्ते भएको पूर्वमेयर मेन्याङ्बोले सुनाए । उनले नेपालप्रेससँग भने, ‘धेरै अदालतमा गुनासो गएपछि अदालतका श्रीमानहरुसमेत आउनुभएछ । तर, काम राम्रो भएकाले उहाँहरु नकारात्मक नभएर सकारात्मक भएर जानुभएछ । त्यसपछि कुनै कानुनी समस्या भएन ।’
हरेराम कर्माचार्य त घरटहरा भत्काउन प्रहरीले दर्जनौं अश्रुग्यास र हवाई फायर गरेको अनुभव सुनाउँछन् । भन्छन्, ‘भानुचोक त रणमैदान जस्तो भएको थियो । तर, बहुसंख्यक धरानेहरु भत्काउने पक्षमा थिए ।’ कर्माचार्य मेन्याङ्बोको बोल्ड कदमले घण्टाघर उभिन सकेको सुनाउँछन् । भन्छन्, ‘मेयर मनोज मेन्याङ्बोले जुलुस र विरोधसँग खुट्टा कमाएको भए घण्टाघर बन्दैन थियो । भानुचोक सुन्दर हुँदैन थियो ।’
मनोज मेन्याङ्बोले राजनीतिक दाउ राखेर लिएको जोखिमले घण्टाघर ठडियो । तर, उनको राजनीतिमा भने त्यही मुद्दाले असर गरेको पनि कतिपय बताउँछन् । घण्टाघरको मुद्दाले आम सुकुम्बासी विरोधी चित्रित गरेर पहिलो संविधानसभामा मेन्याङ्बोले माओवादीसँग हार्नुपरेको बताउँछन् धरानको इलाका प्रशासनमा काम गरेका अवकाशप्राप्त कर्मचारी तथा कवि बद्री भिखारी । भिखारीका अनुसार राजनीतिक रुपमा मेन्याङ्बोलाई तत्कालीन घाटा जस्तो भए पनि घण्टाघरले दीर्घकालीन फाइदा भएको छ । आज धरान बनाउने मेयरको उदाहरणमा उनको नाम धेरै चर्चामा आउने भिखारी बताउँछन् ।
कुनै बेलाको कुरुप भानु चोक क्षेत्रमा घण्टाघर बनेपछि सुन्दरतामात्रै आएको छैन आम्दानीसमेत बढेको छ । घण्टाघरमा टिकट काउन्टरमा स्थापनाकालदेखि बसेका राजा सुब्बाका अनुसार सामान्य अवस्थामा दैनिक २०० यात्रु घण्टाघर क्षेत्रमा प्रवेश गर्छन् । टिकटबाट दैनिक दुईतीन हजारदेखि १५–२० हजार रुपैयाँसम्म कमाइ हुने सुब्बाको अनुभव छ । शनिबार, नयाँ वर्ष र अन्य विभिन्न अवसरहरुमा भीड र कमाई दुवै राम्रो हुने सुब्बा सुनाउँछन् ।
घण्टाघर परिसरमा प्रवेश गरेको सुरुमा पाँच र दश रुपैयाँ तोकिएको थियो । भूइँ क्षेत्रमा पाँच र टावर चढेको दश तोकिएको थियो । यो रकम अहिले दोब्बर भएको छ । घण्टाघरमा भिडियो क्यामेराले खिचेको ५० रुपैयाँ र फिल्म सुटिङ गरेको प्रतिघण्टा ५०० रुपैयाँ तोकिएको छ । यही पैसाले घण्टाघरले आन्तरिक आम्दानी गर्न सकेको छ । यद्यपि धेरैले पैसा नतिर्ने सुब्बाको अनुभव छ । उनी भन्छन्, ‘हामी यही धरानको हो । केको पेसा तिर्ने भन्नेहरु पनि हुन्छन् ।’
हेमन्ती मगर, हनिमुन मनाउन धरान आउँदा घण्टाघर चढेर प्राण त्यागिन्
घण्टाघर सञ्चालनको १७ वर्ष हाराहारी पुगेको छ । यो अवधिमा एक युवतीले घण्टाघर चढेर प्राण त्यागेकी थिइन् । उनी हुन्, उत्तरी मोरङको सुन्दरहरैंचाकी युवती हेमन्ती मगर । २०७१ कात्तिक २ गते आइतबार मध्यान्ह आफ्ना श्रीमान तामबहादुर मगरसँग हनिमुन मनाउन धरान आएकी हेमन्ती मगरले धरहरा टावरबाट हाम फालेर प्राण त्यागेकी थिइन् । उनले विवाह गरेको तीन दिनपछि यस्तो निर्णय लिएकी थिइन् । उनको पोस्टमोर्टम रिपोर्टले आत्महत्या पुष्टि भएको थियो।
हेमन्तीको आत्महत्यापछि लिम्बू बिजुवादेखि हिन्दू पण्डितहरुसम्मको पाठ लगाइएको थियो । घण्टाघर व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वमेयर मनोज मेन्याङ्बोले आम मान्छेलाई मनोवैज्ञानिक सहजताको लागि बिजुवा र पण्डित लगाइएको तर्क गरेका थिए । हेमन्ती मगरको मृत्युको एक महिनासम्म घण्टाघर प्रवेश निषेध गरिएको थियो । पछि राम्रो तारजाली र हाम फाल्न नमिल्ने घेराबार गरिएपछि मात्रै खुला गरिएको थियो । हेमन्ती मगरपछि घण्टाघरमा अहिलेसम्म कुनै नराम्रो घटना भएको छैन । ५५ फिटको उचाइमा पुगेर ५० जनाले एकसाथ चुचुरोमा पुगेर दृश्यावलोकन गर्न सकिने घण्टाघर अहिले पूर्ण सुरक्षित देखिन्छ ।
घण्टाघरमात्रै हैन घण्टाघर क्षेत्र !
खासमा घण्टाघरको क्षेत्रफल पाँच कट्ठा भएकोमा चारैतिर सडकले ओगटेर करिब तीन कट्ठा हाराहारी भएको बताउँछन् मनोज मेन्याङ्बो । तर, यही सानो क्षेत्रफलमा धेरै कुरा अटाएका छन् । जस्तो २००३ सालमा बनेको पुरानो मन्दिर व्यवस्थित बनाइएको छ । श्री सिद्धिविनायक गणेश मन्दिर २०५८ सालमा निर्माण गरिएको थियो । मन्दिरका पुजारी मधेसी ब्राह्मण देवनारायण झा छन् । घण्टाघर क्षेत्रको यो धार्मिक निधि घण्टाघरको अर्को सम्पदा हो ।
यस्तै घण्टाघर धरानको एक खालको भूकम्प संग्रहालय पनि हो । २०६२ पुस २० गतेको धरान दिवसको दिन स्थापना भएको ‘भूकम्प स्मारक स्तम्भ’ घण्टाघर क्षेत्रभित्रको अर्को आकर्षण हो । २०४५ भदौ ५ गते पाँच बज्न पाँच मिनेट बाँकी हुँदा गएको ६.७ रेक्टर स्केलको भूकम्पले धरानमा ज्यान गएका ११६ जनाकै नाम कुँदिएको स्तम्भ छ भूकम्प स्मारक स्तम्भ ।
यसको उद्घाटनसमेत अहिलेका एक्ला जीवित भिक्टोरिया क्रस विजेता रामबहादुर बेघा लिम्बूले २०६२ पुस २० गते गरेका थिए । पुस २० धरानको विशेष दिन हो । १९५६ पुस २० गते धरानको नामकरण भएकाले उक्त दिनलाई धरान डे अर्थात् धरान दिवसको रुपमा मनाइन्छ । धरान दिवसकै अवसरमा धरानको भूकम्प दुःखान्त सम्झाउने स्मारक उद्घाटन गरिएको थियो ।
घण्टाघर क्षेत्र सूचनामैत्री पार्क पनि हो । घण्टाघर बाहिर १५ वटा सिमेन्टका र ७ वटा धातुका फलैंचा छन् । धातुका फलैंचा भएको क्षेत्रलाई ‘भानु पार्क’ भनिन्छ । भानु पार्कका भित्तामा धरानका पुरानो ढुंगे रेलदेखि पुराना तस्वीरहरुसम्म प्रदर्शनमा राखिएका छन् ।
घण्टाघरभित्र मात्रै २५ वटा फलैंचा निर्माण भएका छन् । हरियाली बगैंचा र घण्टाघरभित्र कल्पना लिम्बूले स्थापनाकालदेखि सञ्चालन गरेको चमेना गृह अर्को आकर्षण हुन् । सबै फलैंचाहरु धरानका स्थानीयले आफन्तको नाममा निर्माण गरेका हुन् । सबैको नाम फलैंचामा कुँदिएको छ ।
घण्टाघर क्षेत्रको अगाडितर्फ एक डिजिटल डिस्प्ले छ, जहाँ धरानका पर्यटकीय खुराकहरु प्रदर्शन हुन्छन् । गोर्खा भवन अगाडिको घण्टाघर क्षेत्रमा जुत्ता सिउने ज्यामीहरु सक्रिय देखिन्छन् । माग्नेहरु उत्तिकै सक्रिय देखिन्छन् । यसरी घण्टाघर हुँदा खाने र हुने खाने सबैलाई एकसाथ समेटेर उभिएको छ, धरानका धेरै परिचयलाई एकसाथ उभ्याएको छ । त्यसैले त आज घण्टाघर धरानको चित्र देखाउने सबैभन्दा शक्तिशाली विम्ब छ ।