सरकारले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा बोर्ड सदस्य विक्रम राईलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा राईलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

योजना आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर सरकारले हालै सदस्य थप गरी सात पु¥याउने निर्णय गरेको थियो । मन्त्रिपरिषदले उद्योगमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति पनि गठन गरेको छ ।

यस्तै, बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्रुमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।                             विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।

      त्यसैगरी नेपाल वायुसेवा निगम व्यवस्थापन करारमा दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा व्यवस्थापन विज्ञ टीकाराम राई, पर्यटन विभाग महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति पनि गठन भएको छ ।