तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर -१ मार्ग पोखरी धार्मिक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।

हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा–शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार(प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएको छ ।

यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । वारिपारि लोभलाग्दो हिमशृङखलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाइँदैन । त्यसो त भौतिक पूर्वाधार निर्माण नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागि शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्ग लगायतका संरचना पनि छन् ।

पोखरी संरक्षणका लागि प्रयास भएपनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भएपनि पदमार्ग छेक्ने झाडी हटाउन आवश्यक रहेको पर्यटक कुमार लिम्बूले बताए ।

पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैंमा ओझेल पर्दै गएको छ ।

तस्बिर : अर्जुुन लिम्बू