भोजपुर / भोजपुरको सबै भन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिक स्थल माइवेँनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार अभावले ओझेलमा परेको हो । 

समुन्द्रि सतहबाट एक सय ५३ मिटर उचाईमा रहेको यो स्थान हतुवागढी ९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको संगम स्थलमा रहेको माइवेँनीमा दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वासले मानिसहरु यो ठाउँमा पुग्ने गरेका छन् ।

 दशक अघिसम्म यहाँ भव्यमेला लाग्ने गरेको भएपनि पछिल्लो समय मेला लाग्न छाडेको ७० वर्षिय स्थानीयबासी अशोक राईले जानकारी दिनुभयो । यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तीमा ठुलो मेला लाग्ने उहाँको भनाइ छ । माइवेँनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटा लगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।

 नेपालमा भएको दश वर्षे सशस्त्र द्धन्दसँगै यो स्थानमा मेला महोत्सव लाग्न छाडेको हतुवागढीका स्थानीबासी इन्द्र थापाले बताउनुभयो । यो क्षेत्रको प्रचार प्रसारमा ध्यान दिन सके यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने थापाको भनाइ छ । 

माइवेँनीको विकास तथा संरक्षणको लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नको लागि कोप्चेबाट अप्ठयारो ठाउँहरुमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै यहाँ घेराबारा गरिएको गाउँपालिकाले जनाएको छ । माइवेनी क्षेत्रको बृहत्तर रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकोले यहाँसम्म पुग्न सहज भएपनि बर्षातको समयमा भने आवत जावतमा समस्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । यहाँ यातायातको सहज पहुँच भएमा पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

यो ठाउँ तराईका ठुला शहरबाट नजिकमा पर्ने भएकोले पर्यटकीय सम्भावाना धेरै रहेको स्थानीयबासी लालबहादुर प्रधानले बताउनुभयो ।  अहिले पनि अरुण नदीबाट जेटबोट चढेर २०/२५ मिनेटमा चतरा पुग्न सकिन्छ । प्रचार गर्न सके यो एउटा पूर्वको प्रमुख गन्तव्यको रुपमा स्थापित हुन सक्छ ।” यो स्थानबाट दूधकोशी पारी उदयपुरको वेलका नगरपालिका ७ र अरुण नदी पारी धनकुटाको सहिदभूमि १ गर्दछ । यो स्थान तीन ओटा जिल्लाको संगम स्थलको रुपमासमेत रहेको छ ।